२४ बैशाख २०८१, सोमबार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड भ्रष्टाचार, सीईओ पौडेलसहित ९ जनाविरुद्ध मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ६९ करोड भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रका सीईओ पौडेलसहित ९ जनाविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज टेंकको पावर सिस्टम खरिदमा भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सीईओ पौडेल एक्लैविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाएको छ । सुरक्षा मुद्रण केन्द्रका निर्देशक पौडेलले पावर सिस्टम खरिद गर्न बोलपत्रमा मिलेमतो, अस्वाभाविक लागत अनुमान सकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानी र औचित्य नै पुष्टि नहुने बल्क फ्युल ट्यांक सिस्टम किनेर भ्रष्टाचार गरेका अख्तियारले जनाएको छ ।

यस्तै आयोगले मेकानिकलतर्फका तत्कालिन सीडीई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार ९ सय ४५ रुपैयाँ बिगो माग गरेको छ । पोखरेल हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।

यस्तै हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रहेका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार ८२७ रुपैयाँ बिगो मागसहित मुद्दा चलाएको छ ।

सो प्रकरणमा अख्तियारले शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !