२० बैशाख २०८१, बिहिबार

अन्तत: ठगी आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह जेल चलान


पक्राउ परेका

काठमाडौं । अन्तत: ठगी आरोप लागेर पक्राउ परेका पृथ्वीबहादुर शाह जेल चलान भएका छन् । अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका शाह कारागार चलान भएका हुन् ।

जिल्ला अदालत काठमाडौंले आइतबार ठगी र कीर्तेसहित चार मुद्दा लगाइएका शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि पक्राउ परेकामध्ये ६ जनालाई अदालतको आदेशअनुसार थुनामा पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका हुन् । यद्यपि उक्त प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन् ।

फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह रहेका छन् ।

यो घटनामा जोडिएका व्यक्ति पृथ्वीका आफन्त र उनले खोलेका २४ कम्पनीमा काम गर्ने कर्मचारी रहेको खुलेको थियो । उनले बयानका क्रममा अधिकांश रकम व्यवसायिक प्रयोजनका लागि ल्याएको बताए तापनि केही रकमको स्रोत भने खुलाउन सकेका थिएनन् ।

यसअघि अमेरिकाबाट आफ्नो कम्पनीको नाममा आएको लाखौं डलर नेपाल राष्ट्र बैंकले रोकेको भन्दै शाहले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई समेत गुहारेका कारण शर्मा विवादमा परेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !