२३ बैशाख २०८१, आइतबार

सरकारी तथ्याङ्क एकीकृत ‘डाटा सेन्टर’मा आउँदैछ : मन्त्री शर्मा


रेखा शर्मा र बालेन्द्र शाह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारस्थित मन्त्रालयमा आज उनीसँग गरेको भेटमा सरकारका प्रवक्ता शर्माले भनिन्, “फरकफरक डाटा सेन्टर हुँदा सरकारी तथ्याङ्क असुरक्षित देखिएकाले सरकारले आफ्नै सफ्वेयरबाट एकीकृत गर्ने तयारी गरेको छ ।”

मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्नका लागि मन्त्रालयले दूरसञ्चार ऐन नै परिमार्जन गरी एउटै तारबाट सेवा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन् । “एउटै तारबाट सेवा प्रवाह गर्नेगरी कानुनी प्रावधान ल्याइँदै छ”, उनले भनिन्, “भूकम्प, बाढीपहिरोजस्ता सङ्कटकालीन अवस्थामा पनि तत्काल सेवा सञ्चालन गर्नेगरी उद्धार टोली बनाउन कानुनमै व्यवस्था गर्न लागिएको छ ।”

भेटका क्रममा प्रमुख शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू (फेसबुक, ट्वीटर, युट्युव र टिकटकलगायत) नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्री समक्ष अनुरोध गरेका थिए । मन्त्री शर्माले डिजिटल साक्षरता अभियान सञ्चालन गर्न स्थानीय तहसँग आग्रहसमेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !