१४ बैशाख २०८१, शुक्रबार

डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प, घर भत्किएर ६ जनाको मृत्यु


डोटीमा भूकम्प

धनगढी । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा मध्यरातमा भूकम्प गएर घर भत्किएर ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ मध्यरात २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् भने अधिकांश घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोठीले जनाएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा ८ घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस्तै वेपत्ता २ जनाको भने सकुुसल उद्धार गरिएको छ ।

भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवी बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ । यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र  १७ वर्षीया धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

घाइते ५ जनाको उपचारका लागि अस्पताल ल्याइएको छ । भूकम्पमा परी घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा रहेका छन् ।

भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् । अधिकांश स्थानीयका घरहरू भत्किएर स्थानीय त्रसित देखिएका छन् । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि हिजो मंगलबार राती ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिममा ५.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !