१९ बैशाख २०८१, बुधबार

काग तिहारको अवसरमा रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’


काग सम्मेलन

काठमाडौँ । यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ । ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान १९औँ काग सम्मेलन गरिएको हो ।

काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्नुभएको हो ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गरेका हुन् । “कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्”, उनले भने ।

काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ । काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !