१८ बैशाख २०८१, मंगलबार

सभामुख झान्सु बस्नको लागि चिनियाँ दूतावासद्वारा चार दिनका लागि सोल्टी होटल रिजर्भ


सोल्टी होटल

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले आज सोमबारदेखि नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।

उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु आफ्नो ४ दिने औपचारिक भ्रमणका लागि आज दिउँसो ३ बजे विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख झान्सु नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल सोल्टी होटलमा बस्ने भएको छ । उक्त चिनियाँ प्रतिनिधि मण्डल बस्नको लागि नेपालस्थित चिनियाँ दूतावासले काठमाडौँको सोल्टी होटल चार दिनका लागि रिजर्भ गरेको गरेको स्रोतले बताएको छ ।

अध्यक्ष लिको सुरक्षालाई मध्यनजर गर्दै चिनियाँ दूतावासले होटल नै रिजर्भ गरेको स्रोतले बताएको हो । चिनियाँ दूतावासले सोल्टी होटल रिजर्भ गरेपछि प्रहरीले सो आसपासको सुरक्षा व्यवस्था कडा गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाडले लिको सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा लिको सुरक्षाका बारेमा छलफल भएको थियो ।

सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । आजै साँझ ६ः३० बजे सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्ने छन् ।

चिनियाँ राष्ट्रिय जनकँग्रेसका स्थायी समिति अध्यक्ष झान्सुले भाद्र २८ गते नै पराराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सोल्टी होटेलमै भेट्नेछन् भने सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि सम्भवतः बालुवाटारमा भेटघाट हुनेछ ।

चिनियाँ सभामुख झान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भाद्र २९ गते शिष्टाचार भेट गर्नेछन् भने सोही दिन चिनियाँ प्रतिनिधि मण्डलले २०७२ सालको भूकम्पबाट क्षति भई पुनर्निर्माण भएका भक्तपुर दरबार परिसरका मठमन्दिरहरुको अवलोकन भ्रमण गर्नेछन् । झान्सु नेतृत्वको टोली आफ्नो चार दिने भ्रमण सकेर भाद्र ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !