२४ बैशाख २०८१, सोमबार

म्यादी प्रहरीका लागि १ लाख १५ हजार जनाको भर्ना खुल्यो


म्यादी प्रहरी

काठमाडौं । नेपाल प्रहरीले १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयल‍े आज आइतबार संघीय निर्वाचनका लागि भर्नाका लागि विज्ञापन खुलाएको हो ।

म्यादी प्रहरीका लागि नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख गरिएको छ । सार्वजनिक बिदाको दिनसमेत आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

म्यादी प्रहरीका लागि काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसँगै देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेका साधारण नेखपढ गर्न जानेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन पाउनेछन् ।

म्यादी प्रहरीको लागि दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

उनीहरुले ४० दिन काम गर्नुपर्नेछ । म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ पाउने छन् ।

उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने-जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।

यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरीको संख्या बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !