१९ बैशाख २०८१, बुधबार

सरकारको निर्णय : जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा राष्ट्रिय शोक मनाउने


शिन्जो आबे

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा भोलि शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

आज शुक्रबार बिहान गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएकोमा सरकारले उनको निधनमा दु:ख व्यक्त पनि गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको हत्याको भर्त्सना पनि गरेको छ ।

सामाजिक संजाल ट्वीटरमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आबेको निधनको खबर सुनेर आफूलाई गहिरो दुःख लागेको बताएका छन् । देउवाले आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि भएकोले यस दु:खद घडीमा आबेको आत्माको चिर शान्तिको कामना गर्दै जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुप्रति गहिराे समवेदना व्यक्त गरेका छन् ।

जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारपछि ढलेका आबेको उपचारका क्रममा निधन भएको हो । यसैबीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !