२० बैशाख २०८१, बिहिबार

गृहमन्त्रीको निर्देशनलगत्तै सिण्डिकेट पक्षधर यातायात व्यवसायी पक्राउ


पक्राउ

२१ वैशाख, काठमाण्डौ ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै यातायात सेवा ठप्प पार्ने व्यवसायीलाई कारवाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयको परिपत्र पाएलगत्तै सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरी ठाउँ ठाउँबाट यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न थालेको हो ।

गृहमन्त्रालयको पक्राउ गर्ने आदेशपछि धेरै जिल्लाका सिण्डिकेट पक्षधर व्यवसायीको भागदौड मच्चिएको ती जिल्लास्थित संचारमाध्यम तथा संचारकर्मीहरुले जनाएका छन् ।

गृहमन्त्रालयका अनुसार पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जीवन  बञ्जाडे र महासचिव पदम गाहामगरलाई बुटवलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेची बस व्यवसायी संघ, हिमाल यातायात व्यवसायी संघ, पूर्वी नेपाल व्यवसायी संघ लगायतका पदाधिकारीहरु पनि रहेका छन् ।

यस्तै, टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण न्यौपाने र श्रेष्ठ हेटौडाबाट पक्राउ परेका छन् ।

कोशी बस व्यवसायी संघका सचिव राजमणि निरौलासहितका पदाधिकारी भागेका छन् भने मेची यातायात व्यवसायी संघ लगायत देशभरका अन्य यातायात व्यवसायी संघका पदाधिकारी तथा नेताहरुको समेत भागाभाग भएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार पक्राउ परेका सबैलाई अत्यावश्यक सेवा संचालन ऐन २०१४ अनुसार  कारबाही हुनेछ । सो ऐनमा अत्यावश्यक यातायात क्षेत्रको सेवा अवरुद्ध गर्नेहरुलाई पक्राउ गरी १ वर्षसम्म कैदको सजाय गर्नसक्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !