२३ बैशाख २०८१, आइतबार

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता


भत्ता

रामपुर, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ ।

पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपाङ्गता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागू हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताए ।

हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।

स्वास्थ्य शिविरमा २७२ जनाले सेवा लिए

पाल्पाको निस्दी गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर २७२ नागरिकले सेवा लिएका छन् । शिविरमा एक जना कुष्ठरोगी र १० जनामा शङ्कास्पद भेटिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताएका छन् ।

तीन जनामा भिआईए पोजेटिभ, दुई जनामा सर्भाइकल पोलिप र एक जनामा सर्भाइकल सिस्ट पत्ता लगाएको छ । शिविरबाट चार महिलाको पाठेघर खस्ने समस्या देखिएको छ । दुई जनाले रिङ प्रेसरी, एक जनाले सिस्टोसिल र दुई जनाले इम्प्लान्ट सेवा लिएका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा बिहीबार र शुक्रबार शिविर सञ्चालन भएको हो । सदरमुकाम तानसेनदेखि टाढा रहेको यस गाउँपालिकामा स्वास्थ्य सेवा पाउँदा नागरिकलाई ठूलो राहत मिलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !