२१ बैशाख २०८१, शुक्रबार

सम्झनामा जनप्रिय राजा वीरेन्द्र : दरवार हत्याकाण्डकाे २१ वर्ष पूरा


दरवार हत्याकाण्ड

काठमाडौं । दरबार हत्याकाण्ड नेपालको ऐतिहासिक रहस्यमय घटना हो । तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश हुने गरी भएको उक्त हत्याकाण्ड आज २१ वर्ष पूरा हुँदा पनि यो घटना रहस्यमय नै रहेको छ ।

२०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्रको सपरिवारसहित १० जनाको रहस्यमय हत्या भएको थियो । यही हत्याकाण्डले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि धेरै छन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र राजकुमार निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह लगायतको हत्या भएको थियो ।

दरवार हत्याकाण्डपछि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार युवराज दीपेन्द्रलाई दोषी ठहर गरेका थियो ।

उक्त समितिले यूवराज दीपेन्द्र शाहले सबैलाई गोली चलाएर हत्या गरी आफूलाई पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन् र घटनाको पूर्ण छानबिन पनि हुन सकेको छैन । त्यसैले यस घटनालाई अहिले पनि रहस्यमय हत्याकाण्ड नै मानिरहेका छन् ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालेसमेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिएका थिए । तर डिजाइनर को हुन् ? भन्ने कुरा रहस्यमै सीमित भएको छ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले उच्चस्तरीय छानबिन प्रतिवेदन सार्वजानिक गरेका थिए । उक्त घटनामा युवराज दीपेन्द्रलाई दोषी ठहरेपनि धेरै नेपालीहरु रहस्यमय घटना नै भनिरहेका छन् । तत्कालीन सभामुख रानाभाटले यो घटनामा तत्कालीन छानबिन समितिको प्रतिवेदनले जे कुरा निकाल्यो सोही कुरा पढेर आफूले सार्वजानिक गरेको बताउछन् ।

यो हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चाएको थियो । यो घटना अहिलेसम्म पनि रहस्यको गर्वमा नै कायमै रहेको छ । जेठ १९ को त्यो कहालिलाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ । हरेक शुक्रवार राजसंस्थाको पारिवारिक जमघट हुने गथ्र्यो।

उदार जनप्रिय र शान्ति प्रेमी राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह राजा भए ।

तर उनले प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काए । सशस्त्र युद्ध गरेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्ति र गणतन्त्रको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

राजतन्त्रको समाप्ति भएर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, राजनीतिक व्यवस्थामा चलेपनि राजा वीरेन्द्रलाई मनमा सजाएका धेरै नेपालीहरु छन् । त्यसैले जेठ १९ को कहालिलाग्दो दरबार हत्याको घटना नेपालीको मनबाट मेटिन सकेको छैन ।

दरवार हत्याकाण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !