२२ बैशाख २०८१, शनिबार

तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु


तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मुस्ताङ । तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ । जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएको छ ।

अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ । घटनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित गौचनले घटनास्थलमा कोही पनि जिवित नभेटिएको बताएका छन् ।

चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएको थियो । कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेका छन् ।

जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए । जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो । जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए । जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए।

यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !