२२ बैशाख २०८१, शनिबार

डर, धम्कीमा नपरी मताधिकार प्रयोग मतदाताहरुलाई सिरिजंगा समाजको अपील


सिरिजंगा सरोकार समाज, नेपाल

काठमाडौँ । कुनै किसिमको मोलाहिजा, डर, धाक, धम्की, लालचा, झुक्यान र प्रलोभनमा नपरी सही अर्थमा आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने कुरालाई मनन् गरी आम मतदातहरुमा अर्थपूर्ण सहभागिताका लागि सिरिजंगा सरोकार समाज, नेपालले हार्दिक अपील गरेको छ ।

सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै आम मतदाताहरुलाई डर, धम्कीमा नपरी मताधिकार प्रयोग अपील गरेका हुन् ।

नेपालको संविधान, २०७२ को कानुनी व्यवस्था अनुरुप नेपालका तीन तहका सरकारहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमध्ये यही २०७९ साल बैशाख ३० गते बिहान ७ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म स्थानीय तहको निर्वाचन हुन गई रहेको सन्दर्भमा समाजले साधारण केटाकेटी खेलाचीका रुपमा, हँसी मजाकका रुपमा वा खरिद विक्रीका रुपमा नलिई गम्भीर रुपमा नागरिक अधिकार हस्तान्तरण गर्ने दिनको रुपमा लिनुपर्ने भनेर ध्यानाकर्षण गराएको हो ।

यस्तो छ हेर्नुहोस् सिरिजंगा समाजको आम मतदाताहरुमा अपील

आम मतदाताहरुमा हार्दिक अपील

नेपालको संविधान, २०७२ को कानुनी व्यवस्था अनुरुप नेपालका तीन तहका सरकारहरु संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मध्ये यही २०७९ साल बैशाख ३० गते बिहान ७ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म स्थानीय तह सरकारको निर्वाचन हुँदै छ ।

यस घटनालाई साधारण केटाकेटी खेलाचीका रुपमा, हँसी मजाकका रुपमा वा खरिद विक्रीका रुपमा नलिई गम्भीर रुपमा नागरिक अधिकार हस्तान्तरण गर्ने दिनको रुपमा लिनुपर्दछ । सरकार सामाजिक संझौताको उपज मानिने भएको हँदा समाजिक संझौताको हस्ताक्षर गरिने दिनको रुपमा निर्वाचनको दिनलाई मानिन्छ । यस दिनमा पाँच वर्षको लागि आ–आफ्नो पालिकामा सरकार निर्माणको लागि सामाजिक संझौता हुँदै छ जसले पाँच वर्षका लागि मतदान मार्फत हस्ताक्षर गरिने भएकोले मतदान रुपी हस्ताक्षरलाई निष्पक्ष, निर्भिक र सोची विचारी प्रयोग गर्नुहुन आम मतदाताहरुमा सिरिजंगा सरोकार समाज हार्दिक आह्वान गर्दछ ।

मूलतः नेपाल बहुदलीय राजनीतिक व्यवस्थामा आधारित भएकोले विभिन्न राजनीति दलहरुले सरकार बनाउन आ–आफ्ना राजनीतिक घोषणापत्र (मेनिफेस्टो) लिइ मतदाताहरु समक्ष गई आफू र आफ्नो पार्टीलाई संझौता गरी संरकार संचालनको अख्तियार दिन लिन हस्ताक्षर सम्पन्न गर्ने दिन निर्वाचन भएकोले पनि आममतदाता यस निर्वाचनको दिन विशेष रुपले सचेत रहन पनि यो समाज मतदाता समक्ष अनुरोध गर्दछ ।

विश्व व्यवस्था, परिवर्तित सामाजिक, आर्थिक सम्बन्धलाई विचार गरी मानवतावादलाई केन्दमा राखी शान्ति, मानव अधिकार, जनजीविका सवाल, कानुनी शासन र विकासका सवालहरुलाई यथो संबोधन गर्ने कुसल, निर्भिक, जनप्रिय व्यक्तित्व सहितको स्थानीय सरकार निर्माणले मात्र नागरिकहरुको भविष्य र जनचाहना सुनिश्चित हुने यथा तथ्यलाई पनि स्मरण गराउन चाहन्छौं ।

अतः आउँदो बैशाख ३० गते आफ्ना दैनिकी तथा कार्यव्यस्थतालाई थाति राखी स्थानीय सरकारको निर्वाचनमा विवेकपूर्ण रुपमा गम्भीर भई सक्रिय रुपले स्वतः स्फूर्त सहभागि हौ । आफ्नो अमूल्य मताधिकारलाई सही रुपमा प्रयोग गरी गौरब गर्न लायकको स्थानीय सरकारको छनौट गरौ । कुनै किसिमको मोलाहिजा, डर, धाक, धम्की, लालचा, झुक्यान र प्रलोभनमा नपरी सही अर्थमा आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने कुरालाई मनन् गरी आम मतदातहरुमा अर्थपूर्ण सहभागिताका लागि यस सिरिजंगा सरोकार समाज, नेपाल हार्दिक आह्वान गर्दछौं ।

अधिवक्ता हरिचन्द्र भट्टराई
(अध्यक्षं)
सिरिजंगा सरोकार समाज, नेपाल
काठमाडौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !