१८ बैशाख २०८१, मंगलबार

पशुपति धर्मशालामा फेरि लफडा, बतास समूहद्वारा सरकारी पक्षलाई प्रवेशमा रोक


पशुपति धर्मशालामा बतास समूह र सरकारी पक्षवीच लफडा

काठमाडौं । काठमाडौँको पशुपतिनाथ परिसरमा रहेको पशुपति धर्मशालामामा लफडा उत्पन्न भएको छ । बतास समूहद्वारा संचालित पशुपति धर्मशालाको गेटमा रहेका कर्मचारी र सरकारी पक्षबीच भनाभन भएपछि सरकारी पक्षलाई प्रवेश गर्न रोक लगाइएको छ ।

उक्त धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको पशुपति विकास कोष तथा सरकारको टोलीलाई बतास समूहले गेट लगाएर भित्र पस्न रोकेको हो । बतास समूहका कर्मचारीले गेट लगाइदिएको सरकारी टोली गेट बाहिरै रोकिएका हुन् ।

धर्मशाला गेटभित्र प्रवेश गर्न खोज्ने सरकारी पक्ष र रोक्न खोज्ने बतास समूहका कर्मचारीवीच गेटमा केहीबेर भनाभन समेत भएको छ । पर्यटनमन्त्री प्रेम आलेको निर्देशनका गएको सरकारी पक्षलाई बतास समूहले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै भित्र प्रवेश गर्न नदिएका हुन् ।

बतास समूहले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसलाको प्रतिक्षा गर्न समेत आग्रह गरेको छ । हल्ला गर्दै मिडिया ल्याएर आएको भन्दै बतासका कर्मचारीले भित्र अवलोकन गर्ने भए समय लिएर आउन भनेका थिए ।

गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन समेत निर्देशन दिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !