२४ बैशाख २०८१, सोमबार

संखुवासभा बस दुर्घटना : मृतक १४ जनाकै र घाइतेहरुको खुल्यो पहिचान


संखुवासभामा बस दुर्घटना

संखुवासभा । संखुवासभा जिल्लाको मादी नगरपालिका-६ मा भएको आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सबै १४ जनाको सनाखत भएको छ । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस आज बिहान ७ः३० बजेतिर मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक. ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको ५ वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा रहेका छन् ।

यस्तै मृत्यु हुनेहरुमा मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले बताएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।

दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको थियो । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।

यस्तो छ हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय संखुवासभाले निकालेको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !