२० बैशाख २०८१, बिहिबार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो


नेपालको जनसंख्या

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित ३ करोडभन्दा करीब ८ लाख कम हुन पुगेको छ ।

आज बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । सार्वजनिक विवरण अनुसार महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

अन्तिम नतिजामा यो विवरणमा सामान्य हेरफेर हुन सक्ने जनाइएको छ । वि.सं. २०६८ को जनगणनामा २ करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्या रहेको थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसंख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसङ्ख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ । सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसङ्ख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ ।

आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नेपाल २ करोड ९१ लाख नेपालीको प्यारो ढुकढुकी रहेको जनगणनाबाट देखिएकाले यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरे । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आफूहरुले नेपालको नयाँ नक्सामा समावेस लिपुलेक, कालापानी र लिम्पियाधुरामा पनि गणना गरिएको तथा विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

पत्रकारको प्रश्नमा महानिर्देशक श्रेष्ठले छोरा र छोरीमा विभेद न्यून हुँदै गएको तथा छोरा पाउनकै लागि सन्तान बढाउने प्रवृत्ति अन्त्य हुँदै गएकाले पनि अपेक्षाकृत रुपमा जनसंख्या बढ्न नसकेको हुन सक्ने जनाए । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो ।

नेपालमा पहिलोपटक वि.सं. १९६८ मा जनगणना भएको थियो । वि.सं. १९७७ र १९८७ मा जनसंख्या वृद्धिदर नेगेटिभ भएकोमा त्यसपछि वार्षिक जनसंख्या वृद्धिदर २०७८ को जनगणनामा कम पाइएको विभागले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !