२० बैशाख २०८१, बिहिबार

शहिद सप्ताह शुरु : पहिलो दिन शास्त्रीको सम्झना


शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौँ । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा आजबाट शहिद सप्ताह शुरु भएको छ । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ ।

काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन् ।

शुक्रराजको जन्म विसं १९५० मा बनारसमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ, कलकत्ता लगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा सङ्गठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले विसं १९९४ मा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए ।

धार्मिक गतिविधिबाट जहानियाँ शासन विरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा विसं १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए । राणाको विरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो ।

विसं १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।

यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासन विरुद्ध देशविदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार सहिदको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरिसकेको छ । यस वर्ष सहिद सप्ताहका अन्य कार्यक्रम माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी मनाइने कार्यक्रम रहेको छ ।

कोरोना महामारीकाकारण यसपटक मन्तव्य कार्यक्रम भने राखिएन । सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !