२४ बैशाख २०८१, सोमबार

जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन सरकारसंग माग


जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता

काठमाडौं । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै ई.इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै ई.इन्द्रजित साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रि«य स्तरको आन्दोलन गर्ने पनि उनले चेतावनी दिए । सरकारले जसरी भन्छ आफुहरु त्यसरी नै प्रस्तुत हुने पनि उनले बताए । उनले जबसम्म माग पुरा हुँदैन त्यत्तिबेला सम्म आन्दोलन जारी रहने बताए । एकपटक आफ्नो ठाउँमा उभिएर सोच्न पनि सरकारलाई आग्रह गरे ।

आफुहरुको अन्तिम नारा ‘आफ्नो बुवा आमाले नागरिकता पाइसके, कि त हामीलाई मारीदिनुहोस् कि त नागरिकता दिनुहोस् । होइन भने हामी कुन देशका नागरिक हो उतै पठाइदिनुहोस् ।’रहेको पनि सुनाए ।

ई.साफीले जुन आमाले ९ महिना कोखमा राखेर जन्माएको बच्चालाई उही आमाको नामबाट नागरिकता दिन नसकेकोमा सरकारप्रति गुनासो गरे । ६ लाख ८० हजार भन्दा धेरै युवाहरुले आजसम्म नागरिकता नपाएको समेत उनले उल्लेख गरे ।

अहिले सम्म ज–जसले नागरिकता पाएका छन् उनीहरुले मात्र कसरी पाए ? यसको उत्तर सरकारले आफुहरुलाई दिनपर्ने उनको भनाई थियो । उनले मोटरसाइकलको लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिन पनि नागरिकता आवश्यक हुने भएकोले नागरिकता नभएकै कारण धेरै समस्या पाइरहेको सुनाए । उनले भने, ‘सरकारले कि तँ नेपाली होइन भन्नुपर्यो होइन भने नागरिकता दिन पर्यो । यसरी आफ्ना नागरिकहरुलाई समस्यामा राख्न भएन ।’

ई.साफीले जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएको बताए । गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको पनि उनले जानकारी दिए ।

उनले नागरिकताबाट बन्चित भएका धेरै पीडितको संख्या रहेको उल्लेख गर्दै लाखौ युवाहरुको नागरिकता नपाएर जिन्दगी बरबाद भइरहेको जिकिर गरे । यसको जवाफ सरकारले दिनै पर्ने उनको भनाई थियो । आफुपनि ईन्जिनियरीङ्ग अध्ययन सकेर पनि कैयौ सेवा तथा सुविधाबाट बन्चित भएको गुनासो गरे ।
नागरिकता पीडित साफीले सरकारले आफ्नो देशका नागरिकहरुलाई जसरी पनि नागरिकता दिन उनले माग गरे । कति आमाको आफ्नो नागरिकता नभएको कारण बच्चाको जन्मदर्ता गर्न नपाएर धेरै बच्चाहरुले पढ्न नपाएको र शिक्षाबाट बन्चित भएको उनले दुखेसो पोखे ।

सरकारले सुनेर पनि नसुनेको जस्तो र बुझेपनि नबुझेको जस्तो गरेर झन् आफुहरु थप पीडित भएको उनले बताए । देशभरीबाट नागरिकताबाट बन्चित भएका साथीहरु एकजुट भएको उनले जानकारी दिए ।

२५ गतेदेखि संसद भवन घेराउ, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय घेराउ तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास घेराउ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !