२० बैशाख २०८१, बिहिबार

बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपातले जनजीवन प्रभावित


बागलुङमा हिमपात तस्वीर सौजन्य : धोरपाटन न्यूज

बलेवा । बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रबाहेकका क्षेत्रमा यस वर्ष पहिलो हिमपात भएको हो । मङ्गलबार साँझदेखि वर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा हिमपात भएको स्थानीय शिक्षक अगन्धर सापकोटाले जानकारी दिए । “गाजाको दह सिङ्गारिएको छ, यो साच्चिकै सुन्दर देखिएको छ”, हिउँमा खेल्दै गरेको दृष्य सामाजिक सञ्जालमा सार्वजानिक गर्दै उनले लेखेका छन् ।

मङ्गलबार साँझदेखिनै सो क्षेत्रमा हिमपात भएको थियो । ढोरपाटन क्षेत्र, घुम्टेको धुरी र आसपासका क्षेत्रमा हिमपात भएको छ । साथै ताराखोलाका विभिन्न पहाड, काठेखोला गाउँपालिकाको घोडाबाँधे र जैमिनी नगरपालिकाको हाँडीकोटमा हिमपात भएको छ ।

हिमपात र वर्षाका कारण बिशेषगरी विद्यालय जाने बालबालिका, पशुचरन गर्ने गोठाला तथा दैनिक दिनचार्यमा रहेका मानिसमा यसको असर परेको छ । हिमपात भएका क्षेत्रमा युवायुवतीले भने रमाइरहेका छन् ।

वर्षा र हिमपातले हिउँदे बाली गहुँ र जौ बालीलाई भने निकै राम्रो भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । हिमपात र वर्षाका कारण सबैभन्दा धेरै ज्येष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन् । उच्च पहाडी क्षेत्रका विद्यालयसमेत प्रभावित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !