२४ घण्टादेखि उद्धारको पखाईमा झापाको होक्लाबाडी टप्पुका ८५ परिवार Nepalpatra २४ घण्टादेखि उद्धारको पखाईमा झापाको होक्लाबाडी टप्पुका ८५ परिवार
१४ मंसिर २०७८, मंगलबार

२४ घण्टादेखि उद्धारको पखाईमा झापाको होक्लाबाडी टप्पुका ८५ परिवार


बाढी

झापा । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए ।

बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उहाँको भनाइ छ । नदीले बिजुलीको खम्बासमेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ ।

बस्तीमा आफन्तकामा दसैँको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पुर्याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन् ।

“चारैतिर कनकाइ नदीले घेरा हालेको छ । उद्धार गर्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब पानी रह्यो बाढी पनि घट्छ होला । भोलि जसरी पनि उनीहरुको उद्धार गर्न पहल गर्नेछौँ ।” अध्यक्ष श्रेष्ठले बस्तीमा विशेष गरी सन्थाल, आदिवासी र बाहुन क्षेत्रीको बसोबास रहेको बताए ।

झापामा सबैभन्दा बढी डुबानमा परेर विस्थापित हुनेमा पनि गौरीगञ्जकै बासिन्दा छन् । वडा नं १ कै धानगाडा, बिर्खेबस्ती, रङ्गियाथान र बालुवाडी र वडा नं २ को भाकुमाडीका गरी करिब २०० परिवार डुबानमा परेका छन् । जसमध्ये ७५ परिवारको भने उद्धार गरेर सामुदायिक वन, स्कूल र रेडक्रसको भवनमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !