२४ बैशाख २०८१, सोमबार

सगरमाथामा आरोहीको भिडभाड


mount everest

दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ । नागरिक दैनिकमा समाचार छ।

यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यतातिर लम्केका आरोही अहिले आधारशिविरबाट दिनहुँ उकालो लागिरहेका छन्। चुचुरो पुग्ने ‘लालसा’ र पुगेपछि फर्कने हतारोका कारण बाटोमा ट्राफिक जाम हुन थालेको हो।

यसको ताजा उदाहरणमा गएको ६ दिनको आरोहण गतिविधि हेर्दा प्रष्ट हुन्छ। गत बुधबार (वैशाख २९) देखि सोमबार (जेठ ३) भित्र विभिन्न देशका ८८ आरोहीले सगरमाथा शिखरमा विजयी झन्डा फहर्या एका छन्। यसमा विदेशीभन्दा नेपालीको संख्या धेरै छ। सबैले दक्षिणपूर्वी मोहोडा (नेपाली भेग) बाट आरोहण गरेका हुन्।

वैशाख २९ मा ‘इन्स्ट्रक्टर’ पासाङतेन्जी शेर्पासहित नौजना शेर्पाले सगरमाथाको ७ हजार ९ सय २० मिटर उचाइमा अवस्थित चौथो क्याम्पबाट चुचुरोसम्म बाटो बनाएका थिए। उनीहरूले डोरी टाँग्ने, भर्यापङ राख्नेलगायत काम गर्दै बाटो बनाएका थिए। त्यसअघि नै आधारशिविरबाट चौथो क्याम्सम्म पनि बाटो बनाएका थिए।

‘आधारशिविरबाट चुचुरो पुग्ने र फर्कने बाटो एउटै हुने गर्छ,’ आधारशिविरमा रहेका पर्यटन विभागका नायबसुब्बा तथा आरोहण सम्पर्क अधिकृत (लियाजों) ज्ञानेन्द्र श्रेष्ठले सोमबार नागरिकसँग टेलिफोनमा भने, ‘यसले गर्दा सगरमाथामा आरोहीको ट्राफिक जाम हुनु स्वाभाविक हो।’

गएका दुई वर्ष लगातार ठूला प्राकृतिक विपत्तिका कारण सगरमाथा आरोहण रोकिएको यसपालि मौसमले साथ दिएका कारण पनि सगरमाथामा आरोहीको संख्या बढेको उनले बताए। अनुमति पाएर पनि पछिल्ला दुई वर्ष आरोहण गर्न नपाएका र यो वर्ष नयाँ गरी सयौं आरोही आधारशिविरमा जम्मा भएको उनले जानकारी दिए।

‘गएका ६ दिनमा ८८ जना शिखर पुगे पनि अझै करिब ६ सय आरोही आधारशिविरमा बसेर उपयुक्त मौसम कुरिरहेका छन्,’ पाँच वर्षअघि निजामति कर्मचारी सगरमाथा आरोहण दलबाट सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठले भने, ‘अबका केही दिन सगरमाथामा साँच्चिकै ट्राफिक जाम हुनेछ। एकै दिन सयजनासम्म आरोही शिखर पुग्ने गर्छन्।’

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि त्यसबेला सरकारले आरोहण गतिविधि स्थगित गरेको थियो।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो। त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगित भएको थियो।

दुई वर्षपछि आरोहण खुला भएको मौका छोपेर २ सय ८८ विदेशी र एक नेपाली आरोही (झापाका अनिष लुइँटेल) तथा करिब ४ सय नेपाली ‘हाइ अल्टिच्युड वर्कर’ ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविर पुगेका छन्। यी सबै ३४ आरोहण दलमा सहभागी छन्।

‘यसपालि वसन्त ऋतुमा मौसमले पनि साथ दिइरहेको छ। निरन्तर ६ दिन आरोही शिखर पुगेको पुग्यै छन्। यो पनि एउटा कीर्तिमान नै हो,’ उनले भने, ‘विगतमा वर्ष यसरी निरन्तर आरोही शिखर पुग्न सकेका थिएनन्।’

उनका अनुसार गत बुधबार नौ नेपाली, बिहीबार तीन नेपाली र तीन विदेशी, शुक्रबार १४ नेपाली र १४ विदेशी, शनिबार दुई नेपाली र एक विदेशी, आइतबार १३ नेपाली र ९ विदेशी तथा सोमबार ११ नेपाली र ९ विदेशी शिखर पुगेका थिए। यिनमा बेलायत, मेक्सिको, चीन, नर्वे, स्वीडेन, दक्षिण कोरियालगायत देशका आरोही छन्।

सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन्। उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन्। त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन्। आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन्। अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ।

२०७१ को घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो। २०७१ मा एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलले पर्यटन विभागबाट अनुमति लिएका थिए। त्यसबाट विभागले ३२ लाख ५० हजार अमेरिकी डलर (त्यसबेलाको ३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको थियो।

ती आरोहीमध्ये केहीले आरोहणमा नफर्कने बताए पनि यसपालि अधिकांश फर्केर आएका छन्। पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) थियो। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपर्थ्यो। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। यसअघि २० हजार र १० हजार डलर छ।

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !