१४ बैशाख २०८१, शुक्रबार

औद्योगिक क्षेत्रभित्रको नेबिको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा आउँदै


आगो नियन्त्रणमा आउँदै

काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो ।

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालीमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । कम्पनीभित्र प्रज्वलनशील पदार्थ बढी रहेकाले आगलागी नियन्त्रणमा समस्या भएको महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी वरिष्ठ उपरीक्षक निर्मल बुढाथोकीले राससलाई जानकारी दिए ।

“बिस्कुट उत्पादन गर्ने कम्पनीमा घ्यु, मैदा, चिनी, प्लाष्टिक जस्ता सामग्री हुँदा आगोले झन् ठूलो रुप लिन पुग्यो, त्यसैले आगो नियन्त्रणमा समस्या परेको हो”, डिएसपी बुढाथोकीले भने । आगलागी शुरु भएपछि बालाजु वृत्तको प्रहरी टोली बिहान २ः२० बजेदेखि नियन्त्रणमा खटिएको उनको भनाइ छ ।

आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका नौ दमकल प्रयोग गरिएका छन् । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरिरहेका छन् ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालीले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो ।

नेबिको प्रालीका ब्राण्ड मेनेजर अरुण पौडेल अहिलेसम्म आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले केकति क्षति भयो भन्नेबारे यकीन तथ्याङ्क निकाल्न नसकिएको बताए । घरभित्र आगो लागेकाले पनि नियन्त्रणमा लिन कठिन भएको हो ।

आगो तिनतिरबाट नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तीन सय भन्दाबढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि केकति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । उक्त कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो ।

नेबिको प्रालीले वार्षिक रु एक अर्ब १५ करोडभन्दा बढी रकम बराबरको सामग्री बजारमा बिक्रीका लागि पठाउँदै आएको थियो । सन्ताउन्न वर्ष पहिले स्थापना भएको उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिज लगायतका सामग्री उत्पादन गर्दै आएको थियो । चार युनिटमार्फत काम गर्दै आएको उक्त कम्पनीले भैरहवामा समेत शाखा विस्तार गरेर काम गर्दै आएको ब्राण्ड मेनेजर पौडेलले बताए ।

यो पनि पढ्नुहोस्

बालाजु औद्योगिक क्षेत्रभित्रको नेबिको बिस्कुट कारखानामा भीषण आगलागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !