१४ बैशाख २०८१, शुक्रबार

पहिराबाट विस्थापितलाई १५ लाख सहयोग


करोड

गण्डकी । घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले कास्कीको घान्द्रुकका पहिरो पीडितलाई राहतस्वरूप रु १५ लाख एक हजार ७७० नगद सहयोग गरेका छन् । घान्द्रुकका समाज हङकङका पूर्वअध्यक्ष चन्द्र गुरुङ, सचिव दीपक गुरुङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरुङले घान्द्रुकमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

घान्द्रुक समाज हङकङका अध्यक्ष दुर्गा गुरुङको नेतृत्वमा रु १२ लाख ९१ हजार ७७० र घान्द्रुक समाज बेलायतमा रु दुई लाख १० हजार सङ्कलन भएको कार्यक्रममा जानकारी गराइयो । गत असार १ गतेको मध्यराति अन्नपूर्ण गाउँपालिका–१० र ११ का विभिन्न ठाउँमा पहिराले दुई घर बगाएर पूर्ण क्षति, दुई घर उच्चजोखिम तथा सात घर परिवारमा क्षति पुगेको थियो ।

रोजगारीका सिलसिलामा हङकङ र बेलायतमा रहेका घान्द्रुक समाजमा आबद्ध सदस्यहरूबाट रकम सङ्कलन गरी प्राकृतिक विपत्को समयमा पीडितलाई केही राहत होस् भन्ने उद्देश्यका साथ रकम सहयोग गरिएको घान्द्रुक समाज हङकङका सचिव एवम् कार्यक्रम संयोजक दीपक गुरुङले जानकारी दिनुभयो ।

उक्त अवसरमा घर पूर्ण क्षति भएका चिजकुमारी र मैतसिं गुरुङको परिवारलाई हङकङका तर्फबाट रु चार लाख १६ हजार ७७० र बेलायतका तर्फबाट रु एक लाख २० हजार, हरिकला गुरुङलाई रु एक लाख र छवि राना मगरलाई हङकङका तर्फबाट रु एक लाख र बेलायतका तर्फबाट रु ४० हजार नगद सहयोग प्रदान गरिएको थियो ।

त्यस्तै पहिराको उच्च जोखिम रहेका विस्थापित भएका बुद्धिबहादुर परियार र मनभुजा परियारलाई जनही हङकङका तर्फबाट एक लाख र बेलायतका तर्फबाट रु २० हजार रकम उपलब्ध गराइएको थियो । घर चर्केर क्षति भएका रामप्रसाद गुरुङ, दीपक गुरुङको परिवारलाई जनही ५० हजार, कमला जैसी, रोजन विक, टेकबहादुर पौडेल, राजमान गुरुङ र खड्कबहादुर जैसीलाई जनही रु ३५ हजार प्रदान गरिएको गुरूङले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !