११ बैशाख २०८१, मंगलबार

मेलम्ची बाढी पिडितको नाममा चन्दा उठाए २ वर्ष कैद र १ लाख जरिवाना


मेलम्ची बजार

चौतारा । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बाढी पिडितको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा, गुणस्तरहीन बस्तुको कारोबार गरेमा २ वर्ष कैद तथा १ लाख रुपैयाँ जरिवाना गराउने चेतावनी दिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको उत्तर-पश्चिम गाउँ हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक जानकारी दिएको छ ।

बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचना डुबेर क्षति पनि भएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ ।

बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने नदी तटीय क्षेत्रमा भएका रिसोर्ट तथा ईको रिसिोर्ट गरी आधा दर्जन रिसोर्ट बगाएको छ ।

मेलम्ची बाढी पिडितको नाममा चन्दा उठाए २ वर्ष कैद र १ लाख जरिवाना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !