४ जेष्ठ २०८१, शुक्रबार

काठमाडौं महानगरले मेलम्चीका बाढी पिडितका लागि २ करोड सहयोग गर्ने


मेलम्चीका बाढी पिडित

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राकृतिक प्रकोप बाढी पहिरोको चपेटामा परेको मेलम्ची नगरपालिकालाई २ करोड नगद सहयोग गर्ने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले आज बिहीवार भएको काठमाडौं महानगरपालिकाको नवौं नगरसभाले आफ्नो मितेरी सम्बन्ध रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।

प्राकृतिक प्रकोपले गरेको क्षतिबाट राहत र पुनःस्थापनका लागि २ करोड नगद सहयोग गर्ने निर्णय भएको हो । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।

गत मंगलवार राति आएको बाढीले मेलम्ची नगरपालिकाको मेलम्ची बजारका लगभग १०० घरमा क्षति पुगेको छ । बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन् ।

नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको मृत्यु भएको छ ।

मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत भएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !