२२ बैशाख २०८१, शनिबार

१७ जिल्लामा थपियो जारी निषेधाज्ञा, देशभर ७५ जिल्लामा निषेधाज्ञा कायम


काठमाडौँ_लकडाउन_निषेधाज्ञा

काठमाडौँ । नेपालका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थपिएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर, बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो ।

हाल ७५ जिल्लामा कायम निषेधाज्ञा कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ । थपिएका १७ जिल्लाबाहेक कतिपय जिल्लामा यसअघि लगाइएको निषेधाज्ञाको समयसीमा असारसम्मै कायम छ ।

ती १७ जिल्लामा भने जेठ मसान्तको राति १२ बजे निषेधाज्ञाको समय सकिएपछि खुकुलो प्रावधानसहित नयाँ व्यवस्था गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकाको मोडालिटीमा अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताए ।

केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसलहरू साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न निर्देशन दिइएको छ । अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !