२३ बैशाख २०८१, आइतबार

वसुन्धरा अब आफ्नै ‘कुटी’मा


घर

बलेवा । सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा वसुन्धरा शर्माको चुल्हो बल्छ । परिवारमा अरू कोही छैनन् । खेती गरेर खाने जमीन छैन, उमेरले पनि डाँडा काटेकाले काम गरेर खानसक्ने कुरै भएन । बिहे गरेको महिना नबित्दै श्रीमान्को मृत्यु भएपछि बिहेपछिका झण्डै ८० वर्ष उहाँले एकल जीवन बिताउनुभयो । आठ वर्षको उमेरमा उहाँको बिहे भएको थियो ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी उहाँ ८८ वर्षकी हुनुभयो । उहाँको जिउने आधार एउटा सानो कुटी थियो । गत वर्षको वर्षायाममा त्यही कुटीमा समेत विपत्ति आइलाग्यो । गत भदौ २८ र २९ गतेको वर्षापछि जग नै भासिएर घर जमीनमुनि पुग्यो । वसुन्धराले एक वर्ष निकै कष्टले बिताउनुभयो । घर भाँसिएपछि पीडाको सीमा रहेन । छिमेकीको घरमा आश्रय लिएर बस्नुभयो । वसुन्धारको खुशी एक वर्षपछि फर्किएको छ ।

नगरपालिकाले भाँसिएको घर पुनर्निर्माण गरिदिएपछि वसुन्धराको आँखामा अहिले हर्षका आँसु देखिन्छन् । “बाससमेत हिँड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो”, वसुन्धराले खुशी व्यक्त गर्दै भन्नुभयो, “आफ्नै झुप्रो प्यारो लाग्छ नि !” उहाँको घर बनाउन नगरपालिकाले रु ७० हजार अनुदान दिएको थियो । स्थानीय युवाले सहयोग अभियान घोषणा गरेका थिए ।

नगरपालिकाले जिम्मेवारी लिएपछि युवाहरुले अभियान रोके । घर बनाउन डकर्मी र सिकर्मीको ज्याला रु ५० हजार र रु २० हजारको जस्तापाता उपलब्ध गराइएको वडा सदस्य रुद्रनाथ शर्माले बताउनुभयो । स्थानीय काठ र बाँस तथा ढुङ्गा माटोले उहाँका लागि एकछाने नयाँघर बनेको छ । एकल भएकाले खानाका लागि सामाजिक सुरक्षा भत्ता र एकदुईवटा अंशमा पाएका बारीमा फल्ने उपजले पुग्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !