२२ बैशाख २०८१, शनिबार

काठमाडौँ उपत्यकामा आजदेखि जेठ ३१ गतेसम्म निषेधाज्ञा : के गर्न पाइन्छ र पाइँदैन ?


काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौँ उपत्यकाको जारी निषेधाज्ञालाई थपेर जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जेष्ठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको थियो । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । २० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने निर्णय गरिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन् । उनका अनुसार यातायातमा पुरानै नियम यथावत् छ । निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ । व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ ।

खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइने लगायतका निर्णय भएका छन् ।

के गर्न पाइन्छ ?

१. यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ ।

२. अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो ।

३. औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्ने छ ।

४. निषेधाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना)बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ ।

५. अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

६. खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

७. वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पाेरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ ।

८. अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ ।

९. घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । भीडभाड नहुने गरी नित्यपूजाका गतिविधिमात्रै गर्न पाइने छ ।

१०. मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

११. बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुई जना हिँड्न पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ ।

१२. सुरक्षा गार्डले पोशाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् । सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवात-जावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ ।

के गर्न पाइदैन ?

१. अनलाइन बाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।

२. औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन ।

३. सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन ।

४. थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ ।

५. विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ ।

६. फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ ।

के गर्न पाइन्छ र पाइँदैन ? यस्तो छ जिप्रकाको आदेश 

के गर्न पाइन्छ र पाइँदैन ?के गर्न पाइन्छ र पाइँदैन ?के गर्न पाइन्छ र पाइँदैन ?के गर्न पाइन्छ र पाइँदैन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !