२१ बैशाख २०८१, शुक्रबार

कालो ढुसीको संक्रमणबाट धनगढीमा १ जनाको मृत्यु


धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट आज बिहीबार १ जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका-६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले दिएको जानकारी अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भएर कालो ढुसीको लक्षण देखिएका आधारमा उपचाररत थिए ।

अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न थियो । कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएको थियो । तर पनि उनलाई बचाउन नसकिएको डा. श्रीपाइलीले बताए ।

कालो ढुसी धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएको मानिसमा देखिने बताउँदै उनले शरीरको जुनसुकै अंगमा समेत असर गर्न सक्ने डा. श्रीपाइलीले बताए । यो रोगको संक्रमण बढीजसो आँखा, फोक्सो, किड्नी तथा छालामा यसको संक्रमण देखिएको उनले जनाए ।

यद्यपि श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ । यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !