२१ बैशाख २०८१, शुक्रबार

नेपालमा हुने बौद्ध सम्मेलनमा चिनिया चासो


buddha jayanti

वैशाख १९, २०७३- जेठको पहिलो साता नेपालमा हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा चीनका विभिन्न प्रान्तबाट ठूलो संख्यामा सहभागिता हुने भएको छ । सम्मेलनलाई विशेष महत्व दिंदै प्रान्तीय सरकारले आफ्ना नागरिकलाई सहभागी जनाउन आह्वान पनि गरेको छ ।

सम्मेलनकै लागि पहिलो चिनियाँ भिक्षु सुआन चाङ्गको मूर्ति लुम्बिनीमा पठाइसकिएको छ । राजधानी बेइजिङ्ग, पुरानो राजधानी सियान सहरको सान्सी, हेनान र सिचुवान प्रान्तबाट सहभागी बढाउन प्रचारप्रसारको काम अन्तिम चरणमा पुगेको सियान विश्वविद्यालयका प्राध्यापक डा.राजिकुमार झाले कान्तिपुरलाई बताए ।

‘बौद्ध सम्मेलनका लागि केन्द्रीय सरकारले नै विशेष चासो देखाएको छ’, सियान विश्वविद्यालयमा आयोजित अन्तक्र्रियामा झाले भने, ‘बौद्धमार्गी, बौद्ध भिक्षु र बौद्ध दर्शनका अध्यताहरु जाने तयारीमा छन् ।’

सम्मेलनका लागि सियान र सिचुवान प्रान्तमा विशेष रुपमा सक्रिय झाका अनुसार अतिथि र सहभागी समेत कम्तीमा एक सय ५० जनाको प्रतिनिधित्व चीनबाटै गराउने तयारी भइरहेको छ ।

यो वर्ष बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा सरकारले गरेको हो । जेठ ८ गते बुद्ध जयन्तीका सन्दर्भमा जेठ ६ गतेदेखि ३ दिनसम्म काठमाडौं र लुम्बिनीमा विभिन्न कार्यक्रम गरी सम्मेलन हुन लागेको हो ।

संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले सम्मेलनलाई सफल बनाउन भारत, चीन, श्रीलंका, थाइल्याण्ड, जापानसहितका मुलुकबाट राजनीतिक एवं बौद्ध समुदायको प्रतिनिधित्वका लागि लिखित निम्ता गरेका छन् ।

बुद्धको जन्मभूमि नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन र धार्मिक पर्यटन मार्फत मुलुकको आर्यआर्जन बढाउन सम्मेलनले महत्वपूर्ण योगदान दिने पोखरेलले बताए ।

‘धार्मिक पर्यटन बढाउनका लागि बौद्ध सम्मेलन कोशेढुंगा हुनेछ’, मन्त्री पोखरेलले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना चीन भ्रमणका क्रममा सिचुवान र सान्सी प्रान्त समेत पुगी बौद्ध सम्मेलनमा सहभागीका लागि स्थानीय सरकारलाई समेत आग्रह गरेका थिए । ‘त्यतिबेला सान्सी प्रदेशका गर्भनरले प्रधानमन्त्री ओलीकै अगाडि बौद्ध सम्मेलनमा सहभागी हुन आफ्ना नागरिकलाई आग्रह गरेका थिए’, झाले स्मरण गर्दै भने, ‘सोही अनुसार उच्चस्तरकै चिनिया नेताको अगुवाईमा बौद्ध सम्मेलनमा भाग लिने तयारी भइरहेको छ ।’

ओली भ्रमणको बेला सिचुवान प्रान्तीय सरकारले प्रा डा.झालाई नेपाल र चीनको सिचुवान प्रान्तबीचको मैत्री सम्बन्ध प्रवद्र्धन गर्ने सद्भावना दूत नियुक्त गरेको थियो । सियान विश्वविद्यालयले भने उनकै नामबाट ‘चाइना–नेपाल फ्रेण्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ समेत स्थापना गरेको छ ।

चीनमा युवा नेपाली वैज्ञानिकका रुपमा कार्यरत झा विश्वविद्यालयमा क्यान्सर रोग सम्बद्ध उपचारमा केही वर्षदेखि अनुसन्धानरत छन् ।

झाले पहिलो चिनिया भिक्षु चाङ्गले नै बौद्ध धर्म चीन लगेर प्रचारप्रसार गरेकाले उनको मूर्ति नेपालमा अनावरणले ठूलो सन्देश दिने बताए ।

चिनिया भिक्षु, दार्शनिक र अद्येताहरुको सहभागिताका लागि बौद्ध अध्ययन केन्द्र, गुम्बा, शैक्षिक संस्थाहरुमा ब्यापक प्रचारप्रसार देखिन्छ ।

‘कसको नेतृत्वमा जाने भन्ने यकिन त भइसहेको छैन । तर चीन सरकार, यहाँको कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेता तथा बौद्ध अध्ययनका विशिष्ट व्यक्तिसँग कुराकानी भइरहेकाले सम्मेलनमा उच्चस्तरीय सहभागिता हुनेछ’, झाले भने ।

सम्मेलनमा ४० देशका भिक्षुलाई आमन्त्रण गरिएको छ । अहिलेसम्ममा २२ देशको सहभागिता निश्चित भएको जानकारी सरकारले दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !