१८ बैशाख २०८१, मंगलबार

‘क्याराभान’का नायक थिन्ले रहेनन्


dolpo-caravan-thinle
जुम्ला- विश्वचर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुपको आइतबार दुर्घटनामा निधन भएको छ। डोल्पा सदरमुकाम दुनैबाट गाउँ फर्कंदै गरेका ७२ वर्षीय थिन्ले छेत्का भन्ने स्थानमा दुर्घटनामा परेका हुन्।
फोकसुन्डोबाट आइरहेको खच्चरले थिन्ले चढेको घोडालाई ठक्कर दिएको थियो। घोडासँगै लडेर गम्भीर घाइते थिन्लेको आधा घन्टापछि निधन भएको दुनै–१ का रामकृष्ण रेग्मीले जानकारी दिए। घोडा भने तत्काल मरेको थियो।

माथिल्लो डोल्पा, साल्दाङ–५ का स्थायी बासिन्दा थिन्लेलाई घटनापछि उपचारका लागि काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर आउनुअघि नै उनको निधन भएको रेग्मीले बताए। ‘बिहान ११ बजेसम्म हामी सँगै थियौं,’ उनले भने, ‘दुई बजे उहाँ दुर्घटनामा पर्नुभएछ, हेलिकप्टर र चिकित्सक त्यसतर्फ लैजाने पहल हुँदाहुँदै निधनको खबर आयो।’

दुनैमा २०६५ सालमा रेग्मीले थिन्लेको घर किनेर बसेका थिए। थिन्लेलाई उनले एक कोठा निःशुल्क उपलब्ध गराएर बसाएका थिए। बिहान आफ्नो कोठामै बसेर गएका थिन्ले सधैंका लागि बिदा भएर गएको खबरले निकै दुःख लागेको रेग्मीको भनाइ छ। थिन्ले जाडोमा दुनै, नेपालगन्ज वा काठमाडांैतिर झर्थे भने गर्मीयाममा माथिल्लो डोल्पाको घरमै बस्न रुचाउँथे। उनी काठमाडौंबाट चैत दोस्रो हप्ता दुनै पुगेका थिए। उनले गत चैत १ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो गाउँमा जंगली जनावरले बालीनाली र घरपालुवा जनावर खाएर दुःख दिएको भन्दै ज्ञापनपत्र बुझाएका थिए।

फ्रान्सेली निर्देशक एरिक भ्यालीद्वारा निर्देशित फिल्म ‘क्याराभान’का कारण विश्वभर चर्चित थिए थिन्ले। नेपाली निर्माता नीर शाहसमेतको लगानी रहेको ‘हिमालय’ नामबाट पनि चिनिने उक्त फिल्म सन् २००० मा सम्पन्न ७२ औं अस्कर अवार्ड समारोहमा विदेशी भाषातर्फका उत्कृष्ट पाँच फिल्ममा पर्न सफल भएको थियो। पहिलोपटक अभिनय गरे पनि उनको यथार्थपरक अभिनयले धेरैलाई आश्चर्यचकित तुल्याएको थियो।

थिन्लेले खेलेको दोस्रो फिल्म भने ‘इकु ब्याक अगेन’ थियो। फिल्ममा उनी राउटे मुखियाको भूमिकामा थिए। त्यसबाहेक थिन्लेलाई दर्शकले भूषण दाहाल निर्देशित म्युजिक भिडियो ‘सा कर्णाली’मा हेर्न पाएका थिए। सो गीत नेपथ्य ब्यान्डले गाएको थियो।

थिन्लेका दुईवटा चौंरी फार्म छन्। अहिले उनका छोराले त्यो व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्। उनी कलाकारिता भनेपछि हुरुक्क हुन्थे। उनले कोरियाली समूहले बनाएको एउटा डकुमेन्ट्रीमा पनि अभिनय गरेका थिए।

माथिल्लो डोल्पाका अगुवा समाजसेवी थिए थिन्ले। फिल्ममा देखिनुपूर्व उनले साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भई काम गरेका थिए।

पछिल्लो समय दुनैमा बसोबास गरिरहेका ठिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरिरहेका थिए। डोल्पाको साल्दाङ जाँदा दुनैबाट ४ देखि ५ घन्टाको बाटोमा पर्ने खेत्कामा उनको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाले सोमबार बिहान प्रहरी निरीक्षकसहितको टोली घटनास्थलतर्फ परिचालन गराई वास्तविक तथ्य संकलन गर्ने जनाएको छ। प्रहरी नायब उपरीक्षक ध्रुवराज राउतलेे घटनास्थल निकै टाढा भएकोले वास्तविकता बुझ्न नसकिएको बताए। थिन्लेका आफन्तसँग कुनै सम्पर्क हुन सकेको छैन।

दिन–प्रतिदिन युवा शक्तिले देश छाड्नुको पीडा नेपालका हरेक गाउँले भोगिरहेका भन्दै रेमिट्यान्सको भरमा देश चलिरहँदा ग्रामीण बस्तीमा भने अनेकखाले समस्या प्रकट हुन थालेकामा चिन्ता व्यक्त गर्थे उनी।

डोल्पाको विकासका लागि उनले पटकपटक राजधानीमा गएर प्रधानमन्त्री र विकासे मन्त्रालयका प्रमुखसँग भेट गरे। उनी डोल्पालाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गरी यहाँको समग्र विकास भएको हेर्न चाहन्थे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !