८ जेष्ठ २०८१, मंगलबार

चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार


बेरोजगारी

चितवन, २ भदौ । शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोना भाइरस (कोभिड १९) भित्रिएको पाइएको विश्लेषण गरिएको छ ।

जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज, सुविधा सम्पन्न आँखा अस्पताल र दुई दर्जन जति निजी अस्पतालमा आउने बिरामीका साथै कृषि, उद्योग र निर्माण क्षेत्रमा काम गर्न आउने कामदारबाट अहिले जिल्लामा कोरोना सङ्क्रमण बढेको आँकलन गरिएको छ । बाहिरबाट आउने कामदारहरु परीक्षण नगरी आउने र यहाँ आएपछि पनि क्वारेन्टिनमा नबस्दा समस्या बढेको चिकित्सकहरु नै बताउँछन् ।

अस्पतालहरुमा पर्याप्त सुरक्षा सावधानी अपनाउन नसक्दा पनि सङ्क्रमण बढेको पाइएको छ । जिल्लाको कोरोना उपचारको केन्द्र अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्टसहित सात जना चिकित्सक तथा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । त्यस्तै रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेण्टसहित स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित जिल्लाका निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएको पाइएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै प्रदेश नं. २ का बिरामीले यहाँका अस्पताल भरिएको बताउनुहुन्छ । ती बिरामीहरु बिना परीक्षण आएसँगै सङ्क्रमण फैलिएको उहाँको अनुमान छ । उहाँले भन्नुभयो “मैले दिनमा १० जना बिरामी जाँच्दा चार जना प्रदेश नं. २ का छन् ।” यसरी आउने अन्य रोगका बिरामीमा पनि कोरोना सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो ।

यससँगै उद्योग, कलकारखाना, कृषि र निर्माण क्षेत्रमा काम गर्न ल्याइएका मजदुर पनि कोरोना सङ्क्रमणको अर्काे कारण बनेको उहाँ बताउनुहुन्छ ।

लकडाउन सकिएसँगै अब कोरोना हट्यो भन्ने मानसिकताले स्वास्थ्य सावधानी अपनाउन नसक्दा समस्या झन् जटिल बनेको अधिकारी बताउनुहुन्छ । पहिले परीक्षण कम गर्दा नदेखिएको भए पनि परीक्षण बढाएसँगै सङ्ख्या बढ्दै गएको उहाँको तर्क छ ।

अस्पतालहरुले स्वास्थ्यकर्मी चिकित्सकलाई सुरक्षाका लागि सामग्री दिएको भए पनि पर्याप्त हुन नसक्दा पनि समस्या आएको उहाँको बुझाई छ । उहाँले भन्नुभयो “सुरक्षा सामग्री त दिएका छौँ तर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार चल्न सकिएको छैन ।”

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने ढाँटेर भारतदेखिका बिरामी यहाँ आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “गम्भीर अवस्थामा आएका एक बिरामीले माडीको ठेगाना लेखेकोमा मृत्यु भएपछि भारतबाट आएको भन्दै पिसिआर रिपोर्ट मागे ।” वीरगञ्ज क्षेत्रमा कोरोना बढेसँगै उपचार नपाएर त्यस क्षेत्रका बिरामी यहाँका अस्पताल आएसँगै सङ्क्रमण बढ्दै गएको न्यौपानेले बताउनुभयो ।

वीरगञ्जतिरबाट आएका बिरामीले हेटौँडासम्म एउटा एम्बुलेन्स र पूर्वी चितवनसम्म अर्काे हुँदै अस्पताल आउँदा तीन÷चार वटासम्म एम्बुलेन्स फेरेर आएको उहाँ बताउनुहुन्छ । यसरी एम्बुलेन्स फेर्दा समेत जोखिम बढी हुने गरेको उहाँको भनाई छ ।

चिकित्सक स्वास्थ्यकर्मीले पिपिई लगाएर काम गर्नै नसकेको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “सबै ठाउँमा एसी नहुने हुँदा चितवन जस्तो गर्मी ठाउँमा पिपिई लगाएर काम गर्न नसकिने अवस्था छ ।” मास्कसमेत लगाउने बानी नभएको भन्दै उहाँले बेलाबेलामा मास्क खोल्ने र हातले छुने गर्दा पनि जोखिम उच्च भएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहनुभएका प्रदेश सभा सदस्य विजय सुवेदी रोग नियन्त्रणका लागि योजनाबद्ध किसिमले काम गर्न नसकिएका कारण समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “समग्र जिल्लाको रोग निधानका लागि व्यवस्थित योजना भएन । उपचार छ्यासमिस भयो ।”

कोरोनाका सङ्क्रमित र अन्य बिरामी एकै ठाउँमा उपचार गर्दा पनि समस्या भएको उहाँको ठम्याई छ । स्वाब सङ्कलनका लागि पनि अस्पताल नै जानुपर्ने हुँदा त्यो पनि थप जोखिम भएको उहाँको भनाइ छ । अगुवाहरुले नै स्वास्थ्य सावधानी नअपनाउदा समुदायमा सकारात्मक सन्देश नदिएको उहाँको भनाई छ ।

लामो लकडाउनपछि स्वास्थ्य सावधानी अपनाउन सकेको भए यो अवस्था नआउने सुवेदी बताउनुहुन्छ । समयमै योजनाबद्ध रुपमा काम गर्न नसकेमा अन्य बिरामीले उपचार नपाउने अवस्था सिर्जना हुने उहाँको भनाई छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी लकडाउन खुकुलो भएसँगै कृषि र उद्योग क्षेत्रमा आएका कामदार र विदेशबाट आएका नेपालीले समुदायमा कोरोना फैलाएको बताउनुहुन्छ । लकडाउनको समयमा आएकाहरु क्वारेन्टिनमा बसेको भए पनि पछि आउनेहरु आफ्नो सुरमा हिँडडुल गर्ने गरेकाले समस्या भएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !