६ जेष्ठ २०८१, आइतबार

ईद मुस्लिम समुदायको मात्र नभएर राष्ट्रिय पर्व स्थापित भएको छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

इदका अवसरमा आज शुभकामना दिँदै उनले ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएकोले मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताएका छन् ।

उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको भन्दै हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गरेको बताएका छन् ।

उनले मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएकोले ईद पनि यस्तो एउटा पर्व हो, जसले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्ने बताएका छन् ।

नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् ।

उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारहरूको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत् राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएकोले वर्तमान सरकार संविधानप्रदत्त अधिकारहरूको व्यवस्थित कार्यान्वयनमार्फत् सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित रहेको बताएका छन् ।

उनले ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वाससहित मुस्लिम समुदाय लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !