५ जेष्ठ २०८१, शनिबार

राससले आफ्ना सामग्रीको फैलावटलाई वृद्धि गरेको महसुस गरेको छु : सभामुख घिमिरे


देवराज घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवको अवसरमा राससमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आज जारी गरेको सन्देशमा राससले आफूलाई अझ अब्बल र नेतृत्वदायी सञ्चारमाध्यम बनाउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

“राज्यको स्वमित्वमा रहेको राससले पछिल्लो समयमा आफ्नो दायरालाई विस्तार र फराकिलो बनाउँदै गएको छ”, सन्देशमा भनिएको छ, “खासगरी अनलाइन सञ्चारमाध्यममार्फत राससले आफ्ना सामग्रीको फैलावटलाई वृद्धि गरेको महसुस गरेको छु ।”

राज्यका निकाय एकपछि अर्को गरी निजीकरण भइरहेका बेला रासस भने दुई निजी समाचार समिति गाभिएर सरकारको स्वामित्वमा ल्याइएको इतिहास भएको र रासस नाफामूलक नभए पनि केही वर्षदेखि आफ्ना सेवाग्राही सञ्चारमाध्यमबाट सङ्कलन भएको न्यूनतम शुल्क संस्था सञ्चालनका लागि सहयोगी बन्ने गरेको खबरले आफूलाई खुसी बनाएको उहाँको सन्देशमा उल्लेख छ । नेपालका ठूला सञ्चारमाध्यमसमेत राससका ग्राहक भएका कारण राससको पहुँच अत्यधिक वृद्धि भएको सन्देशमा जनाइएको छ ।

“राससले आफ्ना सेवाहरूमा समयसापेक्ष परिमार्जन र विविधीकरण गरी सूचना र समाचार शीघ्र विधिबाट आमजनतामा लैजान गरेको पहल सुखद् छ”, सन्देशमा भनिएको छ, “अझ व्यावसायिक सञ्चारकर्मीले नेतृत्व गरेका कारण पनि रासस अझै सिर्जनशील हुनु अपेक्षित छ, मल्टिमिडियाको उत्पादन सुरु भए पनि गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ ।”

आफ्नो दायरा फराकिलो हुँदै गएका कारण सत्य, तथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आम जनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससले आफ्नो दायित्व र भूमिका अझ वृद्धि गराउनुपर्ने सन्देशमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !