देशकै दुर्गम जिल्ला जाजरकोट । जाजरकोटको पनि दुर्गम भेग नलगाड नगरपालिका । देशको राजधानीबाट सयौं किलोमिटर टाढा, सम्झदैमा थकाई लाग्छ । साँझपख नेपाली सेनाका क्याप्टेन भिमसेन चौलागाईं र रुपक भाइसँग टहल्दै टहल्दै यात्रा सुरु हुन्छ डोल्पा जाने सडक मार्गतिर । कच्ची बाटो, बर्षाको समय भएकोले हिलो पनि उत्तिकै छ । दायाँतर्फ बेगले बगिरहेको भेरी नदीसँगैको मनोरम दृश्य नियाल्दै-नियाल्दै हामी एउटा समथर ठाउँमा पुग्यौ ।
छेउमा एउटा पुरानो नेपाली शैलीको घर छ । घरधनीसँग सहमति मागेर हामी उहाँहरूको बारीतिर लाग्यौ । त्यसपछि त म तीनछक्क परे । करिब १५/१६ रोपनी जग्गामा अनार, आँप, अम्बा र अन्य फलफूल लगाइएको रहेछ । अहिले त आँपको याम नै हो । साना-साना बोटदेखि ठुला बोटमा पनि लटरम्मै, बोटले धान्न नसक्ने गरी आँप फलेको देख्दा कसको मन रमाउदै होला र । हामी बगैंचा घुम्ने क्रममा भित्र जान थाल्यौ । जति भित्र गयो उत्ति नै मनोरम दृश्य रहेछ । आँपहरु भुई नै लाई छुने गरीफलेको, अनार फलेको, छेउमा वनमा चिउरी पाकेको बासना पनि आइरहेको थियो ।
हामीले प्रकृतिसँग रमाउदै हुँदै केहि तस्बिरहरु पनि कैद गर्यौ । बगैंचा घुमिसकेपछि हामी फर्कन लाग्दा उहाँहरुले घरमा केही समय बस्न भन्नुभयो र हामी बस्यौ । अनि मैले सोधे परिवारमा को-को हुनुहुन्छ त ? हामी बुढाबुढी ३ जना छोरा र १ जना छोरी छन् भनेर घरका काकाले उत्तर दिनुभयो ।
यति ठूलो जाजरकोट कै नमुना जस्तो लाग्ने बगैंचा रहेछ तपाईंको मनमा कसरी सोच्नुभयो मैले सोधें । पढेलेखेको छैन, खेती किसानी गर्ने मान्छे, २/४ वटा लगाएको राम्रो फल्यो अनि पूरै जग्गामा लगाएको हो सर उहाँले उत्तर दिनुभयो । घरभित्रबाट काकी पानी दिएर आउनुभयो र काकाको छेउमा बस्नुभयो ।
अनि छोराछोरी के गर्छन् त कता छन् भनेर मैले सोधें । काकाले भन्नुभयो – ठुलो छोरोले बन बिज्ञानमा बिएस्सी सकायो, माइलो छोरोले इञ्जिनियरिङ्ग सकायो र कान्छो छोरो बिबिएस पढदैछ । तपाईको धेरै राम्रो परिवार हेछ, छोराछोरीहरु पनि राम्रो पढेका रहेछन् मैले भने । काकाले थप्नुभयो हामी त अनपढ ढुङ्गा माटोमा जीवन बित्यो, यहि गाउँ पाखापखेरामा पसिना बगाउँछन् । यिनै छोराछोरीहरुको भविष्य राम्रो होस् भनेर हामी दिनरात खटेका छौ । हामीले दु:ख गरे अनुसार छोराछोरीहरु कुनै कुसंगतमा लागेनन्, बाबाआमाले भनेको मानेर अहिलेसम्म राम्रै गर्दै आएका छन् हामी यसैमा खुशी छौ ।
हामी दिन रात यही माटोमा पसिना बगाएर भएपनि छोराछोरीको सुन्दर भविष्यको लागि मिहनत गरेका छौं । धन्न भगवानको हो कृपाले अहिलेसम्म बाबाआमाको आज्ञा पालन गरी राम्रो पढिरहेका छन् । हामीहरुलाई दु:ख भएपनि यी बच्चाहरूलाई सुख हुन्छ कि भनेर पसिना बगाएका छौं ।
साँच्चै उहाँहरूको अनुहारमा एक फरक किसिमको खुसी झल्किएको थियो । तपाईंहरूको राम्रो सुखी परिवार रहेछ, परिश्रम गर्नेलाई सधै भलो हुन्छ नि काका मैले थपे । केहीबेर बसेपछि हामी फर्कियौँ ।
बाटोमा कुरा गर्दै आयौ । बाबा आमाको सेवा र आज्ञा पालन गर्ने छोराछोरीहरु, असल संगत र संस्कारमा हुर्केका सन्तानहरु,जसले भविष्यको बाटो राम्रोसँग कोरेका हुन्छन्, बेलुकी बस्नको लागि एउटा सानोघर, दिनभर पसिना बगाउनको लागि केहिजमिन, जीवन यसैमा धन्य र सुखी हुदोरहेछ । ठुलो शहरको बसाई, ऐस आराममा, धेरै पैसा खोज्दो रहेनछ जिन्दगीले जब आमाबुबाहरु आफ्नो सन्तानहरुको सेवा र असल संस्कारबाट कृतज्ञ रहन्छन्, आफ्नो छाती गर्वले उचो महसुस गर्छन तव त्यही नै जीवनको साँचो खुसी रहेछ ।
ठूला ठूला घर, बैकभरी पैसा, मोजमस्ती, ऐस आराम, महंगा-महंगा गाडी हुने परिवार भन्दा बेलुकी बासको लागि सानी घर, दिनभरी पसिना बगाउने केहि टुक्रा जमिन र बाबा आमाको आज्ञापालन गरी असल संस्कारसहित जीवनमा सही बाटो लिएर हुर्केका सन्तानहरू भएको परिवारबाट शास्वत खुसी र आनन्द मिल्ने रहेछ । परिवारको सुख नै जीवनको खुसी रहेछ । अनि साच्चै, आखिर जीवनको खुसी केमा रहेछ त ?
– ईश्वर भक्ति
राईनास, लमजुङ
ईश्वर थापा नेपाल सरकार, ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयको नलगाड हाइड्रोपावर कम्पनी लिमिटेड, नयाँ वानेश्वरमा कार्यरत इञ्जिनियरिङ्ग भुगर्भशास्त्रीका साथै नेपाल भुगर्भ समाजको कार्यकारी समितिका कार्यकारी सदस्य पनि हुन् ।