७ बैशाख २०८१, शुक्रबार

चाणक्य नीति भन्छ- सफल मानिस बन्न यी ४ गुणहरु चाहिन्छ


चाणक्य नीति

चाणक्य प्राचीन समयका एक महान दार्श्निक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरु लेखिएको ग्रन्थ हो ।

अरु कुनै ग्रन्थमा नपाइने विषयहरु रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ; यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ । चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ ।

चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा मानिसको ४ गुणको बारेमा बताइएको छ । ती गुण हुने मानिस सफल मानिस र राम्रो नेता बन्न सक्ने बताइएको छ । यी गुणहरु पछि सिक्ने कुरा होइनन्, केही खास मानिसहरुमा जन्मजात नै हुन्छ भन्ने चाणक्यले उल्लेख गरेका छन् ।

यसको प्रभावबाट मानिस सफल हुन सक्छन् । आजकल मानिसहरु जागिर र व्यापार वा अन्य कुनै क्षेत्रमा लागिरहेका छन्, उनीहरुमा पनि यी गुणहरु छन् भने सफल हुन सक्छन् ।

चाणक्य नीतिको श्लोकमा भनिएको छ-

दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता।

अभ्यासेन न लभ्यन्ते चत्वारः सहजा गुणाः

१. दानी हुनु

दान दिनु कुनै व्यक्तिको स्वभाव नै हुन्छ । कुनै पनि व्यक्तिलाई दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन । यस्तो बानी मानिसको मनभित्रै हुन्छ । यसर्थ, कसैलाई पनि दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन ।

२. निर्णय लिने क्षमता

कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिँदैन । जसले उचित समयमा उचित निर्णय लिनसक्छ, ऊ सफल हुन्छ । गलत समयमा सही निर्णय लिएर मानिस सफल हुन सक्दैन ।

३. धैर्यता

धैर्य रहन सक्नु मानिसको सबैभन्दा राम्रो गुण हो । कठिन समयमा आफूलाई धैर्यवान बनाइराख्न सक्नु मानिसको धेरै उत्कृष्ट गुण हो । धैर्यवान मानिसले खराब समय सकिएपछि राम्रो काम गर्न सक्छ । तर, धैर्यता पनि सिकाउन सकिँदैन । यो मानिसको जन्मजात गुण हो ।

४. मीठो बोली

मीठो बोल्नु पनि मानिसको सबैभन्दा राम्रो गुणमध्ये एक हो । यस्तो गुण मानिसको स्वभावमै हुन्छ । कसैलाई मीठो बोल्न कहिल्यै पनि सिकाउन सकिँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !