१४ बैशाख २०८१, शुक्रबार

देश वदल्न मान्छे वदलिनुपर्छ : खरेल


Ramprasad Kharel

मोफसलमा बसेर लामो समयसम्म संचार क्षेत्रमा सक्रिय  निबन्धकार तथा कबि हुन्  रामप्रसाद खरेल  । रेडियो पूर्वोदय ९०.४ मेगाहर्ज र रेस मिडिया प्रा.लि. इटहरीका प्रबन्ध निर्देशक समेत रहेका खरेलका हालसम्म चार पुस्तकहरु प्रकाशित छन् । महान् वाणी, रे, रेडियो पत्रकारिता र अक्षरमा मान्छे पुस्तकका लेखक  खरेलसँग नेपालपत्रका प्रदेश नम्बर १ का प्रमुख अरुण एसियनले गरेको कुराकानी :

तपाईं  आजभोलि के मा व्यस्त हुनुहुन्छ ?

मेरो खास काम नै वोल्ने र लेख्ने हो । जुन निरन्तर छ । तर त्यति धेरै व्यस्त पनि हुँदिन म । आन्नदले विस्तारै काम गर्छु ।

तपाईं वहुप्रतिभाशाली व्यक्ति हुनुहन्छ । त्यसैले कुरा कहाँवाट शुरु गरौँ भएको छ । तथापी सकारात्मक सोच विकास सम्बन्धि केही कुरा राखिदिनुभए हुन्थ्यो ।

म केही राम्रो गर्ने प्रयास गरिरहेको छु । सकारात्मक सोचको विकास र प्रचारका लागि केही बर्षदेखि काम पनि गरिरहेको छु । तर यो मिडियामा खासै आएको छैन् । मेरो निबन्ध संग्रह रे मा पनि मैले सकारात्मक सोच विकासका लागि सहयोगी खालका निबन्धहरु नै समावेश गरेको छु । पत्रपत्रिकामा यसबारे वेलावेला लेखी पनि रहेको छु । हामीले हरेक कुरा र बिषयलाई पहिले सकारात्मक कोणवाट हेरौँ र सबभन्दा पहिले त्यसको राम्रो पाटोलाई सदुपयोग गरौँ भन्ने मेरो मुल मान्यता हो । जस्तो कुरालाई पनि राम्रो भन्नु सकारात्मक सोच हैन् । जे हो त्यही भन्नु सकारात्मक सोच हो । यो अवस्थालाई कतिले सोचभन्दा माथि पुगिसकेको अवस्था पनि भन्छन् । चुरो कुरा जीवनमा हरेक कुराको राम्रो पक्षलाई पहिले सदुपयोग गर्नु हो । कतिपय नकारात्मक कुराहरुलाई पनि रुपान्तरण गरेर राम्रो पार्न सकिन्छ ।

साहित्यको संसार विशाल हुन्छ रे आफूलाई उक्त संसारको कहाँनिर पाउनुहुन्छ ?

तपाईले भनेजस्तै साहित्यको संसार विशाल छ । यो विशालताभित्र आफू कहाँनिर छु कसरी भनौँ ? यो ब्रमाण्डको कति क्षेत्रफललाई मेरा पैतलाले टेकेको होला र ? वैज्ञानिकहरुले पत्ता लगाई सकेका भन्दा पनि हजार भन्दा वढी ग्रह, उपग्रह छन् भन्ने अनुमान गरिएको छ । खै आफू त कहाँ छु कहाँ ?

विभिन्न कार्यालय र मिडियाको प्रमुख हुनुहुन्छ, लेखन कार्यलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?

लेखन मेरो प्यासन हो । प्यासन भएपछि व्यवस्थापन पनि गर्न सकिन्छ । कार्यालयमा नै म वढी लेख्छु । किनभने मेरो अंकिकास समय त कार्यालयमै हुन्छ । लेख्न समय नभएको वेला मनमा लेखि रहन्छु । कतिवेला समय पाउँछु त्योवेला ल्यापटप, मोवाइल वा डायरीमा उर्ताछु । सम्पादन गर्न आवश्यक रहेछ भने विस्तारै पछि गर्छु । समय भन्दा ठूलो मान्छेको प्यासन हो ।

यो लेखन कार्य चाहिँ कसैको प्रभाव वा कसैवाट प्रेरित भएर लेखिन्छ भन्ने गरिन्छ यस बिषयमा तपाईंको राय के छ ?

प्रभाव ? प्रभावमा नै चलेको छ संसार । तर के कति मात्रामा भन्ने हो । कहिले बिषयको प्रभाव हुन्छ । कतै व्यक्तिको व्यक्तित्वको प्रभाव हुन्छ । अथवा प्रकृतिको प्रभाव हुन्छ ।कहिलेकाही आफ्नै प्रभाव पनि हुन्छ । समाजमा केही न केही वा कोही न कोहीवाट प्रभाव परेर नै लेखिन्छ । प्रभाव पार्ने तत्व सानो पनि हुनसक्छ , ठूलो पनि हुनसक्छ । खोलाको संगित सुनेर कसैले लेख्ला यहाँ खोलाको प्रभाव पर्यो । कसैको पिडा देखेर लेख्ला त्यहाँ त्यसको पिडाको प्रभाव पर्यो । प्रभावभन्दा प्ररित चै एकदैमै फरक कुरा हो । यो पनि कोही न कोहीवाट हुन्छ । आफैँवाट प्रेरित भयो भने आत्माप्रेरणा वा स्वप्रेरणा हो । जुन आन्तरिक हो । यदि अरुवाट प्रेरित भयोभने त्यो वाह्य प्रेरणा हो । प्रभाव र प्रेरणा हरेकको जीवनमा हुन्छ । लेखनमा पनि हुन्छ । र जीवनका अन्य काममा पनि हुन्छ । यो बिषयमा निकै कुरा छन् जुन यो अन्तवार्तामा अटाउँन सम्भव छैन् ।

एउटा सर्जक वा लेखकले किन लेख्ने गर्छ ?

यसको समान जवाफ हुँदैन् । तर यसलाई समग्रमा प्रभाव र प्रेरणाको परिणाम भन्दा पनि हुन्छ । एउटा लेखकले सधै एउटै शर्तमा वा एउटै सिद्घान्तमा रहेर लेख्न सक्तैन् । लेख्नुको केही न केही उदेश्य त अवश्य नै हुन्छ । कुनैपनि कुरामा वा केही हुनुमा कारण अनिवार्य हुन्छ । र यो लेख्नुमा पनि हुन्छ । रुपान्तरणको लागि पनि लेख्छ, क्रान्तिको लागि पनि लेख्छ, मनोरञ्जनका लागि पनि लेख्छ, आन्नदको लागि पनि लेख्छ । वा देखासेखीका लागि पनि लेख्छ । अह्मका लागि पनि लेख्छ । जेसुकैका लागि लेखोस्, लेखिसकेर वाहिर आइसकेपछि त्यो प्रयोगी नै हुन्छ कुनै न कुनै हिसावमा ।

अब लेखिसकेपछि पुस्तक अधिक प्रिय भए पुरस्कृत गरिन्छ । हाम्रो देशको पुरस्कार वितरण सम्बन्धमा तपाईं के भन्नुहुन्छ ?

सबभन्दा पहिले लेखक र सर्जक भनेका साधक पनि हुन् । लेख्नु भनेको साधना हो । एउटा असल साधकले पुरस्कार, मानसम्मानको मोहमा परेर साधना गर्दैन् । साधनले केही कुरा प्राप्ती भयो भने स्विकार गर्दा पनि हुन्छ । र अस्विकार गर्न पनि पाइन्छ । पुरस्कार लक्षित भएर लेख्नु हुदैन भन्ने मेरो आधरभूत धारणा हो । दोस्रो कुरा पुरस्कार पाउने पुस्तक उत्कृष्ट नै हो भन्न म चै सक्तिन् र पुरस्कार नपाउँदैमा कम्जोर पुस्तक भन्न मिल्दैन् । पुस्तक उत्कृष्ट हुनुमा संसारका कुनै पनि पुरस्कारले फरक पार्दैन् ।

अर्को कुरा हाम्रो देश वा अरु देशको पुरस्कार नै किन नहोस् पुरस्कार छनौट समितिका मानिसहरुलाई मन परेको पुस्तकलाई दिने हो । नेपालमा त झन यति मेहनत पनि गर्छन् जस्तो लाग्दैन् । कसलाई उठाउँन वा चर्चामा ल्याउँनु छ वा कसको चाकरी गर्नु छ वा कसलाई प्रयोग गर्नु छ त्यसलाई पुरस्कार दिन्छन् ।
नेपालमा पुरस्कार पाउँनुको कुनै सृजनात्मक भ्यालु छैन् ।

फेरि मदन पुरस्कारलाई त नेपालको नोवेल पुरस्कार नै मानिन्छ नि ?

हो, यसैले मैले नेपालका पुरस्कारको कुनै सृजनात्मक भ्यालु छैन् भनेको । मदन पुरस्कार भनेको नेपालका तानाशाही चन्द्र शम्शेरका छोरा तीनै तानाशाी मदन शम्शेर जवराको नाममा स्थापित पुरस्कार हो । नेपाल र नेपाली साहित्यको विकाशमा मदन शम्शेर जवराको के योगदान छ ? मानव जगतको हितको लागि उनले के गरे र ? कसरी उनको नाममा स्थापित पुरस्कार सम्माननीय हुन्छ ?

मदन पुरस्कारलाई नोवेलसँग दाज्नु भनेको सब हावादारी कुरा हुन् । नोवेल पुरस्कार कसरी र किन स्थापना भयो ? कसका नाममा कसले गर्यो ? अध्ययन गर्नुहोस् अनि मदन पुरस्कारको पनि । मदन पुरस्कार कसैले दिन्छ, कसैले लिन्छ त्यसमा वहस गर्नुपर्ने पनि देख्दिन् तर एउटा स्वतन्त्रताको पक्षमा उभिने लेखकले मदन पुरस्कार ग्रहण गर्न सक्तैन् ।

पुस्तकलाई मापन गर्ने पारामिटरहरु चाहिँ के–के हुन सक्छन् ? कसरी मापन गर्ने ?

यो खाध्य वस्तु मापन गरेजस्तो वा औषधीको गुणस्तरियता मापन गरेजस्तो सजिलो होइन् सृजनाको उत्कृष्टता मापन गर्नु । तर पनि सामन्यतया लेखन शैली (कला पक्ष), विषय वस्तु र त्यसमाथिको दृष्टिकोण आधरभूत कुराको रुपमा लिन सकिन्छ । अर्को चै असामन्य लाग्यो भने त्यो उत्कृष्ट हो भन्न सकिन्छ । तर सवै असामन्य जस्तो लाग्दैमा उत्कृष्ट हुँदैनन् । व्यक्ति–व्यक्ति, समुदाय, संस्कार र मान्छेको वौद्घिक स्तर, धार्मिक, राजनैतिक आस्था आदिले पनि उत्कृष्टतामा असर गरिरहेका हुन्छन् । एउटा साझा मजवुत पक्ष चै के हो भने प्रस्तुती शैली (कला पक्ष) उत्कृष्टता हेर्ने आँखी झ्याल हो । तर तपाईलाई उत्कृष्ट लागेको मलाई नलाग्न पनि सक्छ । मलाई उत्कृष्ट लागेको तपाइलाई कम्जोर लाग्न पनि सक्छ ।

हामी तपाईलाई पुर्वमा स्थापित लेखक, सर्जक अनि सकारात्मक सोच विकासका अभियान्ताको रुपमा हेर्छौ । खासगरी पूर्वी नेपालको लेखन अवस्था कस्तो पाउनु भएको छ ?

पूर्व चेतनाका हिसावले माथि छ । यहाको लेखन पनि दर्विलो र गर्विलो छ भन्ने मलाई लाग्छ । नाम नै तोकेर भन्दा अर्कोलाई असर पर्ला । पूर्वका तर काठमाण्डौ वस्नेलाई छाडेर कुरा गर्नुपर्छ । जो जाहाँ वसेर सृजनाको साधना गरिरहेको छ त्यो त्यहीको हो । पूर्वमा वसेर साहित्य लेख्नेहरु सशक्त नै छन् केही । सवै होइन् । पुर्व काठमाण्डौभन्दा कम छैन् । तर पुर्वका लेखकहरु, सर्जकहरुले काठमाण्डौका मिडियामा त्यती स्थान पाउँदैनन् यो सत्य हो जति काठमाण्डौकाले पाउँछन् । यो भूगोल पहुचको कुरा हो बौद्धिक पहुचको कुरा होइन् । पूर्वका मिडियामा काठमाण्डौकाले त्यती स्थान पाउँदैनन् जति पुर्वकाले पाउँछन् ।

सिर्जनाले देश वदल्छ रे नि कसरी ?

देश वदल्न मान्छे वदलिनुपर्छ । हो त्यो मान्छे सिर्जनाले वदल्न सक्छ । तर मान्छे वल्दन सक्ने लेख्नु पर्यो । शुरुमै हामीले प्रेरणा र प्रभावको कुरा गरेका छौ नि । हो सिर्जनाले मासिनलाई केही गर्ने प्रेरणा दिनसक्छ । मान्छे चल्ने भनेको वा मान्छे केही गर्ने भनेको उसभित्र रहेको उर्जाले हो । उर्जालाई सहि समय र सहि ठाउँमा प्रयोग गर्न सिर्जनाहरुले सहयोग पुर्याउँन सक्छन् ।

काठमाण्डौ र वाहिरको लेखन र मिडिया पहुचलाई कसरी हेर्नुहुन्छ ?

यो बारेमा माथिपनि केही कुरा भनिसकियो । काठमाण्डौका मिडियाहरुसँग वाहिरका लेखकहरुको पहँुच कम हुनु स्वभाविक छ । जसरी यहाँका मिडियामा उनिहरुको पहुच कम छ । यताका लेखकहरुलाई समेट्न नसक्नु वा नसमेट्नु वा नदेख्नु वाहिरका लेखकहरुको कम्जोरी होइन् त्यो काठमाण्डौका मिडियाहरुको कम्जोरी हो । यति सानो भूगोल भएको देशमा वल्लो छेउ, पल्लो छेउसम्म मिडियाले समेट्न सक्तैन् भने उसको कभरेज कति छ भनेर हामीले मूल्याङ्कन गर्नुपर्छ । लेखकले मिडियाभन्दा वढी पाठक खोज्नुपर्छ । लेखकलाई मिडियाले खोज्ने हो ।

पछिल्लो समयमा एकल कविता वाचनमा निकै सक्रिय हुनु भयो त ?

यो पाठक, श्रोता खोज्ने प्रक्रिया मध्ये एउटा प्रक्रिया हो । पाठक , श्रोत विनाको लेखक के गर्नु ? त्यती धेरै त होइन एकदुइ ओटा भए एकल वाचन । अरुको धेरै हुन्छ । म कविता लेखेरपनि चुपचाप वस्ने मान्छे हुँ । एकबर्षदेखि वल्ल म आफ्ना कविता सुनाउँन थालेको छु । त्योपनि मेरो कविता संग्रह अक्षरमा मान्छेको प्रकाशन भए पश्चात । एकल वाचनले पाठकसँग प्रत्यक्ष सम्बन्ध जोड्न सहयोग पुर्याउँछ । एकल वाचनको अवसर पाइरहनु कविका लागि निकै महत्पूर्ण कुरा हो ।

महत्पूर्ण समयको लागि धेरै धेरै धन्यवाद । थप केही तपाईंका कुरा ?

अरुणजी  तपाईंलाई पनि धन्यवाद । तपाईं आफैमा एउटा राम्रो उपन्यासकार, गजलकार हुनुहुन्छ । एउटा राम्रो लेखकसँग आफ्ना कुरा राख्ने अवसर प्राप्त गरे त्यसका लागि म धन्यवाद दिन्छु । नेपालपत्र परिवारलाई पनि धन्यवाद । यो अन्तवार्ता पढ्नु हुने सवैलाई धन्यवाद ।

अन्त्यमा मेरा श्रोता, पाठक सवैलाई जहिल्यै पनि धन्यवाद भन्छु । मैले भन्ने गरेको छु तपाईंहरु नै मेरो विश्वविधालय हो । र लेखकको न्यायधिश भनेको पाठक हो । म सधै तपाईंको अदालतको कठघारमामा परिक्षित हुन चाहन्छु । तपाईंहरुवाट अनुमोदित हुन चाहन्छु । पढेपछि प्रतिक्रिया दिनुहोला भन्ने अनुरोध गर्दछु ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !