२२ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोक बाढी पहिरो (अपडेट) : ७ जनाको शव फेला, ६ जनाको सनाखत


सिन्धुपाल्चोकमा बाढी

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ भने मृतकहरुमध्ये ६ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव फेला परेको हो । डीएसपी सापकोटाका अनुसार उनका अनुसार मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

मृत्यु भएर सनाखत हुनेहरुमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु-३ की १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ रहेका छन् ।

मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।

बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ ।

मेलम्ची बजारसहित मेलम्ची र इन्द्रावती नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराइएको हो । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !