१४ बैशाख २०८१, शुक्रबार

बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित


माडीमा भारी वर्षा

मनाङ । लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही ठाउँका कर्मा छुमु गुरुङ, धर्म महर्जन (साङ्ग्रिला होटल), अनिता गुरुङ र कर्मा घलेको घर पूर्णरूपमा क्षति भएको छ भने रिमजिम डोल्कर लामाको घरमा आंशिक क्षति पुगेको छ । चार घरका २३ सदस्या त्यस क्षेत्रबाट पूर्णरूपमा विस्थापित भएको लामिछानेले बताउनुभयो । “विस्थापित भएका सबैको घरको पछाडिको भाग पूर्णरूपमा भत्किएको छ, विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।

खोलाको डुबानमा परेका घरहरुबाट सामग्रीहरु समेत स्थानान्तरण गरिसकिएको प्रजिअ लामिछानेले बताउनुभयो । घट्टेखोलाको बाढीले सोही स्थानमा रहेको पक्की पुललाई समेत असर गरेको उहाँको भनाइ छ । बाढीले पुलमा काठ, ढुङ्गा र माटोले पुरेकामा सबै हटाउन भ्याइएको उहाँले बताउनुभयो ।

नयाँबजारको वर्कसपमा खोलाको डुबानमा परेका सात वटा मोटरसाइकल समेत निकालिएको छ । स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी त्यस क्षेत्रको जनजीवनलाई सहज बनाउने कार्य गरिएको छ । बाढीले अनिताको घरमा मिलन गुरुङले फ्रेस हाउस र कर्मा घलेले किराना पसल सञ्चालन गर्नुभएको थियो । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा बाढी प्रभावित क्षेत्रको सरसफाइ गरिएको छ ।

त्यस्तै कोभिड–१९ को महामारीमा बाढीले त्यस क्षेत्रका सर्वसाधारणलाई एकै ठाउँमा बस्नुपर्ने बाध्यता आएपछि यहाँका स्थानीयवासी आतङ्कित बनेका छन् । सङ्क्रमणमा एकै ठाउँमा जम्मा हुँदा एकअर्कोमा सर्नसक्ने भन्दै त्रसित बनेका हुन् ।

बाढीले पानी आपूर्तिमा समस्या

त्यस्तै घट्टेखोलाको बाढी नयाँबजारको बस्तीमा पसेपछि खानेपानी आपूर्तिमा समस्या भएको छ । बाढीले खानेपानीको पाइप बगाएसँगै यहाँ खानेपानी आपूर्ति हुन सकेको छैन । आपूर्ति नहुँदा पिउने पानी पाउनै मुस्किल भएको स्थानीयवासी बताउँछन् । चामे नयाँबजारका ४० घरधुरीलाई पानीको अभावले काकाकुल बनाएको छ ।

कोरोनाको कहरमा बाढीले पानीको समस्या समेत थपिँदा अझ कठिन बनाएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण तथा नियन्त्रणका लागि लागिपरेको अवस्थामा अर्को विपत्तिले कठिन अवस्था सिर्जना गरेको उहाँको भनाइ छ ।

स्थानीयवासीका लागि गाउँपालिकाका अध्यक्ष घलेको पहलमा ४० घरधुरीलाई एक÷एक कार्टुन मिनरल वाटर वितरण गरिएको थियो तर कुनै परिवारका सदस्य धेरै रहेको अवस्थामा समस्या अझ थपिएको छ । पानीको मुहानबाट बस्तीमा ल्याइएको पाइपको मर्मत कार्य भइरहेको अध्यक्ष घलेले बताउनुभयो ।

दुई÷तीन दिनभित्र पानी आपूर्तिमा सहज हुने उहाँको भनाइ छ । “मर्मतसँगै पानी ट्याङ्कीसमेत सरसफाइ गरी उपभोक्तासम्म पु¥याइनेछ”, उहाँले भन्नुभयो । पानीको अभावले बस्तीमा समस्या उत्पन्न भएपछि छिटो पानी ल्याउने गरी काम भइरहेको छ । उक्त बस्तीका सर्वसाधारणले हाल मिनरल वाटरको भरमा जीवनयापन गरिरहेका छन् ।

सडक अवरुद्ध

यसैबीच बाढीले बेँसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका–१ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले उक्त सडकखण्डको पुल बगाउँदा अवरुद्ध बनेको सडक निर्माणसमेत हुन सकेको छैन । पुल बगाएपछि मनाङबाट लमजुङ जाने र लमजुङबाट मनाङ आउने अत्यावश्यक वस्तुका सामग्री ढुवानी गर्ने सवारीसाधनको समेत आवतजावत बन्द भएको छ ।

मनाङका मुख्य सडकसँगै अन्य सडकका अधिकांश खोलामा काठेपुल प्रयोग भएका छन् । मनाङवासीलाई सदैव काठेपुलको जोखिममा यात्रा गर्नुपर्ने हुन्छ । अझ वर्षा लागेसँगै जोखिम बढ्ने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । यसवर्षको मनसुन खतरायुक्त भएमा अझ बढी जोखिम बढ्ने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !