२३ बैशाख २०८१, आइतबार

पर्वतमा राम मन्दिरका संरचना बग्यो, साधुसन्त विस्थापित


पर्वतमा राम मन्दिर

पर्वत, ७ साउन । कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगङ्गा नदीको दोभानमा रहेको प्रसिद्ध राममन्दिरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका-२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशालासहितका संरचना बाढीले कटान गरेर बगाएको छ ।

बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाएको वडाध्यक्ष गोविन्द केसीले जानकारी दिनुभयो । अहिले पनि कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरबाट राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडौँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु¥याएको उहाँले बताउनुभयो ।

गौशाला र धर्मशाला भत्किएपछि साधुसन्तलाई म्याग्दीतर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ । राममन्दिरमा नियमितरूपमा आठ साधुसन्त बस्दै आएका थिए भने आगन्तुकका रूपमा मुक्तिनाथ आवतजावत गर्ने साधुसन्त पनि बसोबास गर्दै आएका छन् । साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ, पालिकाको तर्फबाट केही राहत पनि दिने गरेका छाँै ।”

बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले मङ्गलबार अवलोकन गरेको थियो । अध्यक्ष मल्लले पालिकाको तर्फबाट साधुसन्तलाई राहतसमेत दिनुभयो । उहाँले नदीको बहाव घटेपछि संरक्षणका काम गरिने आश्वासन दिनुभयो । मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि जाने उहाँले बताउनुभयो । “सङ्घीय र प्रदेश सरकारसँग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !