१४ बैशाख २०८१, शुक्रबार

दुई सामुदायिक वनमा आगलागी


आगलागी

बागलुङ, २२ असोज । गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन ।

भैँसे–दानसिङ सामुदायिक वनका सदस्य झङ्कबहादुर बस्नेतले आगो झन्झन् फैलिरहेको बताउनुभयो । “आगलागी भएको ठाउँमा म दुईपटकसम्म पुगेँ, धेरै मान्छे नजुटेसम्म आगो नियन्त्रणमा आउने अवस्था छैन”, उहाँले भन्नुभयो । आगलागी भएको ठाउँमा अहिलेसम्म कोही पनि नआएको उक्त वनका उपभोक्तासमेत रहनुभएका बस्नेतले जानकारी दिनुभयो । उहाँले वर्षौँदेखि वनमा थुप्रिएको सल्ली, खर, सुकेका काठ र पातपङ्तिगरले गर्दा आगो फैलिएको बताउनुभयो ।

ठूलाचौर सामुदायिक वन नजिकको खरबारीमा व्यक्तिले लगाएको आगो वनतिर सरेको स्थानीयवासीले बताएका छन् । आगो कस्ले लगायो भन्नेबारेमा केही थाहा हुन नसकेको जनाइएको छ । आगो लामदारा सामुदायिक वनतर्फ सोझिँदै गएको छ ।

समयमा नियन्त्रण नगरे पर्यटकीय लेक घुम्टेको जङ्गतर्फ आगो फैलिने सम्भावना रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय हरिचौरमा खबर गरिएको घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापाले बताउनुभयो । “प्रहरी र स्थानीयवासी मिलेर आगलागी नियन्त्रणको काम तत्काल थाल्नुपर्छ, नत्र रुख, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको विनाश हुन सक्छ”, उहाँले भन्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !