२२ बैशाख २०८१, शनिबार

४ दिनअघि मृत्यु भएका डोल्पाका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि


मृत्यु-निधन

डोल्पा, २४ जेठ । डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका-३ का ५८ वर्षीय पुरुषको मृत्यु भएकाे ४ दिनपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई दमको रोगी भएकाले घरमै आइसोलेसनमा राखिएको थियो । होम आइसोलेसनमा भएकै बेला उनको जेठ २० गते मृत्यु भयो ।

मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबारको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

सुरक्षाका उपाय अपनाई उनको दाहसंस्कार गरिएकाे थियाे । तापनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ । अहिले गाँउपालिकाका सबै नाका र वडा नं. ३ सिल गरिएको छ ।

उनीसँगै अन्य १२ जना नागरिक पनि जगदुल्लामा आएका थिए । उनीहरु हाल क्वारेन्टाइनमा छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको औपचारिक रुपमा पुष्टि गर्न भने बाँकी छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणवाट मृत्यु भएका ११ जनाको मात्र पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !