२२ बैशाख २०८१, शनिबार

अभिनेता इरफान खानको निधन


इरफान खान

एजेन्सी, वैशाख १७ । भारतीय बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको बुधबार मृत्यु भएको ‘द हिन्दूस्तान टाइम्स’ले जनाएको छ । इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।

गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।

गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !