२३ बैशाख २०८१, आइतबार

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन


रामविलास पासवान

नयाँ दिल्ली, असोज २२ । भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका ७४ बर्षिय पासवानको दिल्लीस्थित एस्कर्ट्स अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा चिराग पासवानले जानकारी दिएका छन् ।

भारतीय राजनीतिमा धेरै समय सत्तामा रहने नेताका रुपमा पासवानलाई चिनिन्छ । पासवान नरेन्द्र मोदीसहित ६ प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारमा मन्त्री बनेका थिए । विहारमा राजनीति गरेका पासवानले २००४ मा जनता दलबाट फुटेर लोक जनशक्ति पार्टी बनाएर राजनीति गरेका थिए ।

अहिले सो पार्टीको नेतृत्व उनका छोरा चिराग पासवानले सम्हालेका छन् । करिब ५ दशकसम्म विहार र भारतको केन्द्रीय राजनीतिमा सक्रिय रहेका पासवानले दुई पटक भारतको लोकसभा निर्वाचनमा सर्बाधिक मत ल्याएर जित्ने किर्तिमान समेत बनाएका थिए ।

पासवान भारतका प्रमुख दलित नेतामा गनिन्थे । ८ पटक लोकसभा सदस्य बनेका पासवान पछिल्लो पटक भने राज्यसभा सदस्य रहेका थिए । यसअघि उनले रेल, सञ्चार तथा सूचना प्रविधि, खनिज लगायतमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !