१४ बैशाख २०८१, शुक्रबार

भक्तपुरमा आपसमा विवाद हुँदा एक व्यक्तिले ढुंगाले हानेर गरे साथीको हत्या


हत्या

१६ असार, काठमाडौं । भक्तपुरमा आपसमा विवाद हुँदा एक व्यक्तिले ढुंगाले हानेर आफ्नै साथीको हत्या गरेका छन् । दुई साथी वीचमा आपसमा सामान्य भनाभन हुँदा भक्तपुरमा एक व्यक्तिले ढुंगाले हानेर साथीको हत्या गरेको प्रहरीले बताएको छ ।

काभ्रेको पनौती घर भएका अन्दाजी ४५ वर्षीय कृष्ण तामाङलाई सिन्धुलीका इन्द्रबहादुर तामाङले ढुंगाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ  । दिनभरि जडीबुटी बेच्ने र स्थानीय पाटीमा सुत्ने मृतक तामाङको शव सोमबार बिहान ९ बजे ग:हिटी टोलमा रहेको पाटीमा छोपिराखेको अवस्थामा भेटिएको थियो ।

शव भेटिएपछि सोधपुछ गर्दा मृतक तामाङसँगै बस्ने सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का तामाङले आपसमा विवाद हुँदा ढुंगाले हानेर मारेको स्वीकार गरेका छन् । इन्द्रबहादुर पनि दिनभरि गःहिटी टोलमा भारी बोक्ने र बेलुकी पाटीमै सुत्ने गर्दथे ।

मृतक तामाङलाई स्थानीयले झौखेलस्थित मानव सेवा आश्रममा पुर्‍याए पनि उनी त्यहाँबाट भागेर बाहिर आएका खुलेको प्रहरीले जनाएको छ । मृतक तामाङको टाउको, निधार र चिउँडोमा चोट लागेको छ । उनको शव पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !