२१ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश अस्पतालमा उपचाररत १ जनाको कोरोना संक्रमणवाट मृत्यु


कर्णाली प्रदेश अस्पताल

सुर्खेत, असार ९ । कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको हिजो सोमबार राति साढे ९ बजे मृत्यु भएको पुष्टि गरेका छन् ।

क्षयरोगका बिरामी मृतक असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार कोरोना पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा उनलाई सिफ्ट गरिएको थियो ।

अस्पतालमाका अनुसार उनको सुर्खेतमै अन्त्येष्टि गर्ने तयारी भई रहेको छ । नेपाली सेनाको टोली अन्त्येष्टिका लागि तयारी अवस्थामा रहेको समेत छ ।मृतकका श्रीमती उनीसँगै अस्पताल भएपनि उनमा भने कोरोना नेगेटिभ देखिएको छ ।

श्रीमानको दाहसंस्कारपछि श्रीमतीलाई घर पठाएर उतै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइने बताइएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि दैलेख र डोल्पामा १/१ जना तथा सुर्खेतमा २ जनाको मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !