४ जेष्ठ २०८१, शुक्रबार

धरौटीमा छुटेपनि सम्पति शुद्धिकरणद्वारा सुलभ अग्रवाल पुन: पक्राउ


सुलभ अग्रवाल

वैशाख १८, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण परिक्षणका लागि प्रयोग हुने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटी बुझाएर आज बिहीबार अपरान्ह छुटेपनि सम्पति शुद्धिकरण बिभागले थप अनुसन्धानको लागि पुन: पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

काठमाडौँ जिल्ला अदालतले अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको थियो । बुधबारदेखि सुरु भएको बहसपछि न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको आदेश सुनाएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले अग्रवाललाई ३ साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले स्टिङ अप्रेसनमार्फत अग्रवाललाई नियन्त्रणमा लिएको थियो।

४/५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप थियो । चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मुल्य लिएर बेचेको आरोप थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !