१९ बैशाख २०८१, बुधबार

बस दुर्घटनामा १ जनाको मृत्यु


दुर्घटना

दमौली, ९ चैत । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नं को बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । “अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ”, उहाँले भन्नुभयो ।

दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !