१९ बैशाख २०८१, बुधबार

बेपत्ताहरु नभेटिँदा कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि


६ असार, काठमाडौं । सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए ।

असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुशको प्रतिमा बनाई हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेका छन् । काठमाडौँ थानकोटका राजु श्रेष्ठ र उनका साथी नाम नखुलेका एकजनाबाहेक नौ जनाको अन्त्येष्टि गरिएको हो ।

बेपत्ता भएकाहरु नभेटिए पनि घटनास्थलभन्दा तीन किलोमिटर तल बोक्चुगौंडानजिकै खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला र चार किलोमिटर तल कारङ खोलामा जिप चालक मणि शाहीको पाइन्ट, जुत्ता र माक्स भेटिएको छ ।

बेपत्ताको खोजीका लागि काठमाडौँको गोताखोर टोली हुम्ला पुगेको छ । गोताखोरले पनि कर्णाली नदीमा केही नभेटेपछि बेपत्ता भएकाहरुका आफन्तले पराल र कुसको प्रतिमा बनाई अन्त्येष्टि गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा जनकबहादुर शाहीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !