१९ बैशाख २०८१, बुधबार

कैदीबन्दीद्वारा ज्याला मजदुर परिवारलाई चामल वितरण


खाद्यान्न

कञ्चनपुर, ३ वैशाख । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित ज्याला मजदुरी गरी खाने परिवारलाई मङ्गलबार कञ्चनपुर कारागारका कैदीबन्दीहरुले दुई छाकको खाना जोगाएर आठ क्विन्टल चामल उपलब्ध गराएका छन् ।

कैदीबन्दीहरुले छ क्विन्टल चामल र एक बोरा नुन प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडामार्फत ज्याला मजदुरी गरी खाने विपन्न परिवारलाई वितरणका लागि हस्तान्तरण गरेका हुन् । कैदीबन्दीहरुले उपलव्ध गराएको चामल र नुन आवश्यकता भएका ठाउँका व्यक्तिहरुलाई वितरण गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो । “लकडाउनका कारण प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर खाने परिवारको पहिचान गरी आवश्यकताका आधारमा कैदी बन्दीले उपलव्ध गराएको चामल वितरण गरिने छ”, उहाँले भन्नुभयो ।

दुई क्विन्टल चामल कैदीबन्दीहरुले कारागारलगायतका क्षेत्रमा दाउरा बेचेर गुजारा चलाउने वेदकोट नगरपालिका क्षेत्रका १३ जनालाई १५ किलोका दरले चामल वितरण गरेका छन ।

सङ्क्रमण हुन नदिन सावधानी

कारागारमा ९५ पुरुष र ३० जना महिला राख्न सकिने भए पनि ३१६ पुरुष र १८ महिला कैदीबन्दीलाई राखिएको छ । कारागारमा दुई नाबालकसमेत छन् ।

कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दीलाई राखिएकाले सावधानी अपनाइएको छ । जेलर शयामराज भट्टले भन्नुभयो, “थोरै ठाउँमा धेरै जनालाई राख्नुपरेको छ । त्यसमा कोरोनालगायतको संक्रमण भए नियन्त्रण गर्न निकै गाह्रो हुन्छ । त्यसैले पूर्वसावधानी अपनाइएको छ ।”

मासुजन्य पदार्थ खानमा कैदी बन्दीलाई कारागार प्रशासनले रोक लगाएको छ । मासुजन्य पदार्थमा कीटाणु हुन सक्ने र सङ्क्रामक रोगहरु फैलिन सक्ने भएकाले मासुजन्य पदार्थ खान रोक लगाइएको जेलर भट्टले बताउनुभयो ।

“सहजै पच्ने खालका खानेकुरा कैदीबन्दीलाई दिन थालेका छौँ”, उहाँले भन्नुभयो, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोनालगायतका अन्य सङ्क्रामक रोगहरु फैलिन नदिन सजगता अपनाएका छौँ ।”

कोरोना भाइरसको सङ्क्रमण हुन नदिन गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएपछि कारागारमा रहेका कैदीबन्दीलाई सुरक्षित तरिकाले राख्न खानपानका साथै सरसफाइका कार्य अगाडी बढाइएको उहाँले बताउनुभयो ।

कैदीबन्दीका आफन्त र अन्यलाई समेत भेटघाट गर्ने कार्य बन्द गरिएको छ । बाह्य व्यक्तिको प्रवेशले कोरोनाको सङ्क्रमण हुन सक्ने सम्भावनलाई ध्यानमा राख्दै भेटघाट बन्द गरिएको जेलर भट्टको भनाइ छ । कारागार सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी र कारागारका कर्मचारीलाई साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गरेपछि मात्र भित्र प्रवेश गर्न दिइने गरिएको छ ।

निःशर्त रिहाइको माग

कारागारका कैदीबन्दहरुले मानवियता देखाई निःशर्त कैद मुक्त गर्न माग गरेका छन् । मङ्गलवार प्रमुख जिल्ला अधिकारी खतिवडामाफर्त प्रधानमन्त्रीको निजी सचिवालयमा रिहाइको माग गर्दै उनीहरूले ज्ञापनपत्र बुझाएका छन् ।

कैदीबन्दीहरुले बुझाएको ज्ञापनपत्रमा निःशर्त कैदमुक्त गरी कैदीबन्दीहरुलाई आमनागरिक सरह जिउनका लागि अवसर प्रदान गरिदिन माग गरेका छन् ।

“कारागारभित्र क्षमताभन्दा बढी बन्दीहरु हुँदा भिडभाड हुने र निश्चित घेराभित्र बस्नु पर्ने भए पनि उचित दूरी कायम गर्न सक्ने ठाउँ नभएकाले कोरोना भाइरसको जोखिम बढने हुन्छ”, ज्ञापनपत्रमा भनिएको छ, “कारागारमा प्रयोग गरिने खाद्यान्यलगायत अति आवश्यक वस्तु बजारबाट आयात गरिने भएकाले यो ठाउँ अझै जोखिममुक्त मान्न सकिन्छ, बन्दी जीवन बिताइरहँदा आफैँ मानसिक तनाव रहनु एउटा समस्या छँदैछ भने त्यसमाथि कोरोना भाइरसको डरले हामीलाई झनै समस्या थपिदिएको छ ।”

यसअघि पनि कैदीबन्दीले रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भए पनि सुनवाइ नभएपछि पुनः ज्ञापनपत्र बुझाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !